बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आयो: प्रसाईं



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताए । यद्यपी संयोजक थापा छुटिसकेका छन् ।

उनले अन्य राजनीतिक दलका युवा संगठनहरु भएजस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भए पनि दस्ताले हालसम्म कसैलाई कालोमसो नदलेको भएपनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए ।

बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको उनको भनाइ थियो ।

बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनबाट आन्दोलनमा उत्रिन उनले आह्वान गरे ।

आफूहरु सर्वहारा वर्गको बिरुद्धमा भएका शक्तिहरुको बिरुद्धमा आन्दोलनमा उत्रिएको उनको दाबी छ ।

आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे । तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने उनले बताए ।

लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने उनले बताए ।


क्लिकमान्डु