श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, क्यानको परीक्षणपछि मात्रै उडान सुचारु हुने
काठमाडौं । बिहीबार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घट्नापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजहरुलाई तत्कालका लागि ग्राउन्डेड गराएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार बिहीबार साँझ क्यानले निर्णय गरेर कम्पनीलाई पत्राचार गर्दै प्राधिकरणको प्राविधिक टोलीले सबै जहाजको प्राविधिक परीक्षण नगर्दासम्मका लागि जहाज ग्राउन्डेड गराएको हो । उनकाअनुसार शुक्रवार बिहानै प्राधिकरणको प्राविधिक टोली श्री एयरलाइन्सका जहाजहरूको प्राविधिक परीक्षणका लागि पुगेका छन् ।
‘हिजो बेलुका हामीले यो निर्णय गरेका हौं,’ उनले भने, ‘अहिले हाम्रो प्राविधिक टोली सबै जहाजको निरीक्षण र परीक्षणका लागि गएको छ । यो प्रक्रिया नसकिँदासम्म जहाज ग्राउन्डेड गरिएको हो ।’
यसअघि श्री एयरलाइन्सका जहाजहरू कम्पनीकै प्राविधिक टोलीले परीक्षण तथा निरीक्षण गरिरहेको थियो । तर, बिहीबार भएको घट्नापछि प्राधिकरणले नै सबै जहाजको निरीक्षण गर्न लागेको निरौलाले बताए । निरौलाले भने, ‘पहिले के थियो भने सबै निरीक्षण एयरलाइन्सकै प्राविधिक टोलीहरूले गर्थे । हिजो पनि त्यस्तै समस्या आयो । त्यही भएर उड्नु भन्दा अगाडि हाम्रो प्राविधिक टोलीले निरीक्षण गर्ने भनिएको हो ।’