साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुन: सुरु



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान सुरु गरेको छ । करिब साढे २ महिनाअघिबाट रद्द भएको जजिराको उडान भैरहवाबाट आजदेखि पुनः सुरु भएको हो ।

बिहीबार बिहान कुबेतबाट जजिराको विमानले भैरहवासम्मको उडान भरेको हो । ६६ जना यात्रु लिएर कुबेतबाट आएको जजिरा एयरवेजको विमानले बिहान ८: ५ मा बजे भैरहवाबा ९९ जना यात्रु लिएर उडेको हो ।

कम्पनीले केही दिनअघि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उडान तालिकाअनुसार आजबाट सातामा तीन उडान हुनेछन् । भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८:०५ मा उडान हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, कुवेतबाट भैरहवाका लागि पनि सातामा ३ उडान हुनेछन् । सोमबार, बुधबार र शुक्रबार स्थानिय समयअनुसार ११:५० मा उडान भर्ने कम्पनीले जनाएको छ ।

भैरहवाबाट सातामा तीनपटक हुने उडान कुवेतको स्थानीय समय १०:५५ मा त्यहाँ अवतरण हुनेछ भने कुवेतबाट नेपालमा हुने उडान कुवेतको स्थानीय समयअनुसार साँझको ७:२० मा अवतरण हुनेछ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपश्चात जेठ २ गतेबाट उडान सुरु गरेको जजिरा एयरले पुसबाट भने मौसमको कारण देखाउँदै उडान स्थगित गरेको थियो । मौसमका कारण स्थागन भएको उडान बिहीबारबाट पुनः सुरु भएकाे हाे ।


क्लिकमान्डु