चिनियाँ एयरलाइन्स सिचुवानले काठमाडौंबाट पुनः उडान गर्ने



काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुबाट साताको ४ उडान गर्नेछ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५:३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१:०० बजे अवतरण गर्नेछ ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९९९ रुपैयाँ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै उडानमा ४६ केजी चेक-इन लगेज र ७: केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ ।

यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।

यसको साथै, नेपालमा सिचुवान एयरलाइन्सको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पुर्‍याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति सिचुवान एयरलाइन्स हार्दिक कृतज्ञता प्रकट गर्दछ ।


क्लिकमान्डु