लघुवित्तका सीईओको प्रक्षेपण- अब कारोबारको साइज घट्छ, मर्जरमा तीव्रता आउँछ
इटहरी । नेपाल राष्ट्र बैँकले एकीकृत निर्देशन २०७८ संशोधन गरी लघुवित्तलाई ८ बुँदे निर्देशन जारी गरेपछि साना लघुवित्तको अवस्था धराशयी हुने र लघुवित्तलाई बाध्य भएर ठूलो बन्नुपर्ने अवस्था आउने प्रक्षेपण गरिएको छ । लघुवित्तले दिएको ऋण नतिर्ने ग्राहक नै अहिले आएर लघुवित्तले ठगी गरेको भन्दै हिँडिरहेको अवस्थामा केन्द्रीय बैँकले लघुवित्तलाई कडाइ गर्ने गरी निर्देशन दिएपछि यस्तो प्रक्षेपण आएको हो ।
सुनसरीको इटहरीमा रहेको सपोर्ट लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमणि तिम्सिनाले राष्ट्र बैंकको निर्देशनले साना लघुवित्तको कारोबार घट्ने र ग्राहकले ठूला भनिएका लघुवित्ततर्फ कारोबार गर्न थाल्ने बताए । ‘कारोबार घट्छ, कारोबाट घट्ने भएपछि लघुवित्तको साइज घट्छ, त्यसो हुँदा ढिलो-चाँडो मर्जरमा तीव्रता आउँला,’ उनले भने ।
लघुवित्तले ग्राहकलाई कर्जा दिँदा कर्जा सूचना केन्द्रसँग समन्वय गरेर अर्को बैँक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यस्ता ग्राहकलाई कर्जा नदिन भनेको छ । ‘यो व्यवस्थाले असल ऋणी बढ्ने भए पनि सबै ऋण लिने ग्राहकले साँचो कुरा नबोल्ने र क, ख र ग वर्गका बैँक तथा वित्तीय संस्थाले तीन-तीन महिनामा मात्रै कर्जा सूचना केन्द्रमा ऋणीको नाम अद्यावधिक गर्ने हुँदा अर्को संस्थाबाट ऋण लिइसकेको ऋणीले पुन: ऋण लिने सम्भावना बढेको छ,’ उनले भने, ‘त्यसमा पनि लघुवित्त नै दोषी देखिनुपर्ने अवस्था आउनसक्छ ।’
बैँकबाट ऋण लिएका ऋणीले लघुवित्तबाट ऋण लिन खोज्दा कर्जा सुचना केन्द्र र स्वघोषणालाई अनिवार्य गर्न लगाउने राष्ट्र बैँकले लघुवित्तबाट ऋण खाएकालाई भने बैंकबाट ऋण लिने वा नलिनेबारे निर्देशनले केही नबोलेको तिम्सिनाको भनाइ छ ।
‘कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गर्नु भनेको स्वागत योग्य कदम हो,’ उनले भने । १५ प्रतिशतभन्दा बढी नाफा बाँड्दा त्यसभन्दा माथि हुन आउने नाफाको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने नीतिले लघुवित्तलाई थप मजबुत बनाउने तर ग्राहक संरक्षण कोष भने व्यावहारिक नभएको तिम्सिनाले बताए ।