एकीकृत समाजवादीका कसैलाई पनि राष्ट्रपतिको प्रस्ताव आएको छैन: झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए ।

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए ।

‘हामीले भर्खरै सचिवालय बैठक सम्पन्न गरेका छौँ । अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनु भयो । तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला हल्ला मात्रै रहेछ’ उनले भने ।

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउने बैठकमा निर्णय भएको उनले जानकारी दिए ।

उपमहासचिव खतिवडाले पनि राष्ट्रपतिका लागि कुनै पनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे ।


क्लिकमान्डु