नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगियो



काठमाडौं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरअघि उनलाई भारत लगिएको हो ।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लगिएको हो ।

हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालले विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको थियो ।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।


क्लिकमान्डु