माघमा ४१ हजार घरजग्गा किनबेच, करिब ४ अर्ब राजस्व संकलन



काठमाडौं । भूउपयोग नियमावलीले गर्दा घटेको घरजग्गा किनबेच पछिल्ला दिनहरुमा सुधार हुँदै गएको छ । देशभरका स्थानीय तहहरुले कित्ताकाटको कार्य अगाडि बढाउँदा कारोबारमा पनि सुधार भएको तथ्याङ्कले देखाउँछ ।

गत जेठमा जारी गरेको भू–उपयोग नियमावलीले देशभर कित्ताकाट ठप्प हुँदा कारोबारमा निकै समस्या भएको थियो । उक्त नियमावलीले गर्दा मासिक ३० हजारको हाराहारीमा पनि घरजग्गा किनबेच हुन सकेको थिएन । तर, कित्ताकाटको कार्य अगाडि बढाएसँगै मासिकरुपमा घरजग्गा किनबेच बढ्दै गएको छ ।

त्यस्तै, मासिकरुपमा कारोबार बढ्दै जाँदा माघ महिनामा ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको छ । जुन ७ महिनापछि हालसम्मकै उच्च किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागअनुसार गत पुसमा ३८ हजार ८७१ घरजग्गा किनबेच भएको थियो । गत पुसको तुलनामा माघमा किनबेचमा सुधार आई २२ सय १५ वटा बढी घरजग्गा किनबेच गरेको छ ।

त्यस्तै, गत मंसिरमा देशभरको मालपोत कार्यालयबाट २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो । माघ महिनामा देशभरका मालपोत कार्यालयबाट ४१ हजार घरजग्गा लिखत पारित हुँदा ३ हजार ६९८ वटा घरजग्गा नामसारी, ४ हजार ८९ संशोधन, ३० हजार ९५६ रोक्का, २३ हजार ७६० फुकुवा र १३ सय १ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

माघ महिनामा सबैभन्दा बढी मालपोत कार्यालय नेपालगञ्जबाट भएको छ । उक्त मालपोत कार्यालयबाट माघमा १ हजार ६८५ घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ५६५ वटा,इनरुवा सुनसरीबाट १४ सय ९९ वटा, तौलिहवा कपिलवस्तुबाट ११ सय ५४ वटा, राजविराज सप्तरीबाट ११ सय ३२ वटा, बेलबारी मोरङबाट ११ सय १० वटा र विराटनगर मोरङबाट ११ सय ५ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, उपत्यकामा ४ हजार १९५ वटा घरजग्गा किनबेच भएको छ । उपत्यकामा रहेको ९ वटा मालपोत कार्यालयबाट ४ हजार बढी घरजग्गा किनबेच भएको हो ।

विभागअनुसार उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । भक्तपुर मालपोत कार्यालयबाट माघ महिनामा १ हजार घरजग्गा किनबेच भएको छ । त्यसपछि, लगनखेलबाट ९८२ वटा, कलंकीबाट ७२० वटा, चावहिलबाट ४४४ वटा, साँखुबाट ४१८ वटा, मनमैजुबाट २७५ वटा, डिल्लीबजारबाट १८९ वटा, टोखाबाट १४४ वटा र गोटीखेलबाट २३ वटा घरजग्गा किनबेच भएको छ ।

करिब ४ अर्ब राजस्व संकलन

घरजग्गा किनबेच बढेसँगै राजस्व संकलनमा पनि सुधार आएको छ । गत पुसमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ७१ करोड ५९ लाख ९७ हजार राजस्व संकलन गरेको थियो भने मंसिरमा महिनामा देशभरको मालपोत कार्यालयबाट २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

विभागअनुसार माघ महिनामा कारोबार बढेकाले ३ अर्ब ७५ करोड ८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । माघ महिनामा करिब ४ अर्ब राजस्व संकलनमध्ये देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत २२ करोड ७४ लाख रुपैयाँ, बागमतिबापत १४ करोड ४० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९६ करोड ३० लाख रुपैयाँ, पूँजीगत लाभकरबापत १ अर्ब ७ करोड ८० लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५९ लाख रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । साथै, विभागले सो अवधिमा ३० करोड ७३ लाख रुपैयाँ राजस्व छुट दिएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये माघमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले ३२ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, भक्तपुर मालपोत कार्यालयबाट २३ करोड ३२ लाख रुपैयाँ, डिल्लीबजारबाट २१ करोड ७० लाख रुपैयाँ, कलंकीबाट २० करोड १३ लाख रुपैयाँ, चावहिलबाट १९ करोड २० लाख रुपैयाँ, कास्कीबाट १२ करोड ९० लाख रुपैयाँ र चितवन मालपोतबाट १० करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

२४ हजार जग्गा कित्ताकाट

माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भई ५४ हजार ४७८ वटा कित्ता कायम भएको छ । जुन नियमावली जारी भएपछिको हालसम्मकै उच्च कित्ताकाट हो । गत पुसमा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता कायम भएको थियो ।

विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ ।

त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको र कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको थियो भने मंसिरमा भने देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको थियो ।


क्लिकमान्डु