कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध हुन्छ: पौडेल



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।

शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उनले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ’, वरिष्ठ नेता पौडेलले भने, ‘राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो की भन्ने लागेको छ तर त्यस्तो होइन।’

गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवद्र्धनबाट त्यो सम्भव रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखिएको बताए । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता रहेको छ ।


क्लिकमान्डु