पेट्रोल छर्केर २ वर्षीय छोरा र श्रीमतीलाई आगो लगाए, भारततर्फ भाग्दै गर्दा पक्राउ



नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।

आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको घर्तीले बताए ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो ।


क्लिकमान्डु