पाइपलाइनमार्फत् पेट्रोल ल्याउन भर्टिकल ट्यांकहरुको निर्माण शुरु



काठमाडौं । नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ ।

निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको जानकारी दिए ।

दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको उनले बताए । दुईवटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने उनले बताए ।

पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने यादवले बताए । निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको उनले बताए ।

निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने उनले जानकारी दिए ।

निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको उनको भनाइ छ । भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ वचत हुने छ ।

अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिब २ अर्ब रुपैयाँ बचत भएको प्रमुख यादवको भनाइ छ । दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने उनको दाबी छ ।

‘मोतिहारी अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो । यसबाट पेट्रोल,डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन । त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरियो । पाइपलाइनबाट डिजेल तीन वर्ष आयात गरियो । पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन । २४ घण्टा समेत सञ्चालनमा आयो । पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्नीकल लागतलाई शुन्यमा झार्‍यो । डिजेल आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्च वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भयो’ उनले भने ।

आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने छ । यसले अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुनेछ । यसबाट प्राविधिक नोक्शानी शून्य हुने, ढुवान भाडा वचत हुने तथा वातावरणीय प्रदुषण कम गर्न समेत सहयोग पुग्‍ने उनी बताउँछन् ।

निगमले अब अमखगञ्जदेखि चितवनसम्म पेट्रोलिय पदार्थको पाइपलाइन बिस्तारको योजना बनाएको उनको भनाइ छ ।’निगमले अब अमखगञ्जदेखि चितवनसम्म पेट्रोलिय पदार्थको पाइपलाइन बिस्तारको योजना रहेको छ । पाइपलाइन अध्ययनको लागि बजेट समेत छुट्याइएको छ । अर्को सिल्गुढीदेखि झापासम्म ३५ किलोमिटरको पाइपलाइन बिस्तारको योजना रहेको छ । अर्को भारतको मोतीहारीबाट सर्लाहीसम्मको ग्यास पाइपलाइन बिस्तार गर्ने योजना रहेको छ ’ प्रमुख यादवले भने ।

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो ।

उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रा.लि. ले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५÷५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी समेत शुरु गरिएको छ । सम्पन्न भएपश्चात मात्रै ५ दिनको माग धान्नसक्ने डिजेल र ७ दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ ।


क्लिकमान्डु