राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखी काम गर्न समस्या : लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन् ।

ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिनभित्रै नतिजा आउने गरी काम हुने दाबी गरे ।

त्यसका लागि गृह मन्त्रालयले संवेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।

‘राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनु भन्दा पनि आदेश पालना गराउने गरी यति निरिह बनाएर राखिएको छ । वर्षौ शासनसत्ता सम्हालेका दलहरुबाट जसले यसलाई थिलथिलो बनाइयो । जसबाट त्यसरी थिलथिलो बनाउन, कमजोर बनाउनका निमित्त कामहरु भए । त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन । यो मैले अनुभव गरेको छु । तर म त्यसको प्रतिउत्तर होइन, काममा माध्यमबाट, रिजल्टका माध्यामबाट, परिणामका माध्यामबाट ती जवाफहरु गरिमामय संसदमा आफैं उपस्थित हुन् भन्ने चाहना राखेर काम गर्न चाहन्छु’ उनले भने ।

अहिले जुन ढंगले राज्यका संरचनाहरुलाई काममा राखिएको छ । तीनमा निकै सुधार चाहिएको उनको भनाइ छ ।
उनले आफूले नतिजा दिनेमा ढुक्क हुन सांसदहरुलाई अनुसरोध गरे ।

‘म नतिजा अवश्यक दिन्छु । म यहाँहरुलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु । कहिलेकाँही आम नागरिकलाई जानकारी दिने शिलशिलामा केही खवरहरु भन्नुपर्ने अवस्था आउन सक्ला । त्यसलाई त्यसै रुपमा बुझिदिन आग्रह गर्दछु ’ उनले भने ।

संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनले बताए ।


क्लिकमान्डु