६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब रुपैयाँभन्दा माथि, ३२% ले घट्यो निर्यात



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब बढी रकमको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालले ७ खर्ब ११ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

नेपालले गत वर्षको सोही अवधिमा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँकाले व्यापारघाटा व्यहोरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले १९.१५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको छ ।

नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

विभागअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा २०.६८ प्रतिशतले कम हो ।

त्यस्तै, निर्यात पनि ३२.०१ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनाको अवधिमा नेपालले १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

नेपालले आयात गरेको वस्तुबाट १ खर्ब ८२ अर्ब ८४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु