अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व संकलन बढ्दैन, सीएहरु ‘हायर’ गर्नुपर्छ: वाग्ले



काठमाडौ । अर्थशास्त्री स्वर्णिम वाग्लेले बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरेका छन् ।अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनुभन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सक्ने उनको भनाइ छ ।

सीएहरुलाई कहाँ कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै उनले यसले राजस्व बढाउन सहयोग पुग्ने बताए । वाग्लेले सीएहरुलाई हायर गरेर उनीहरुको क्षमता सदुपयोग गर्न सरकारसँग आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र: अबको बाटो नामक अन्तरक्रिया कार्यक्रममा उनले विश्वभर नै आर्थिक अवस्था शंकुचनतर्फ लागेको बताए ।

नेपालमा बिप्रेषण पछिल्लो पटक बढेका कारण नेपाल डराइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । बिप्रेषणमा त्यति चाँडो परिवर्तन नआउने उनको भनाइ छ ।

सरकारले अनुदान सोचेजति उठाउन नसकेको उनले बताए । ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको उनले बताए ।

उनले राजस्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढेको बताए । नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने गरेको वाग्लेको भनाइ छ ।

५३२ रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिन सामाजिक सुरक्षामा जोडिनेको संख्या पनि निकै रहेको भन्दै वाग्लेले यसमा चासो दिने बेला भएको बताए ।

बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले चासो दिने बेला भएको उनले बताए । अब सरकारले राजस्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने उनको सुझाथ थियो ।

वाग्लेले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक रहेको भन्दै सम्भावना भएका क्षेत्रमा मन्त्रीले ध्यान दिनु पर्ने बताए ।

नेपाल बिप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि नेपालले दीर्घकालीन योजना बनाउनु पर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको सम्बन्ध सुधार हुनुपर्ने र सुमधुर हुनुपर्ने उनले बताए । नेपालमा कर्जा घर जग्गा र सेयरमा बढी गएको र अन्तरिक उत्पादनमा नगएको भन्दै यसमा सचेत हुन आग्रह गरे । उनले उत्पादनमा कर्जा लगाउने कानूनी बाधा छन् भने ती बाधा हटाउन सरकारसँग आग्रह गरे ।


क्लिकमान्डु