प्रभु र अजोड इन्स्योरेन्सको मर्जर तोडियो, अजोडले गर्यो यूनाइटेडसँग सम्झौता



काठमाडौं । नेपाल बीमा प्राधिकरण(बीमा समिति)ले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अजोड र प्रभु इन्स्योरेन्सले असार ३२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रभु र अजोड इन्स्योरेन्सबीच १००ः७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा मर्जरमा जाने सहमति भएको थियो ।
तर, उक्त मर्जर सम्झौता तोडिएको छ ।

प्रभु र अजोड इन्स्योरेन्सबीच स्वाप रेसियो, नाम र संचालकको विषयमा सहमति हुन नसक्दा मर्जर तोडिएको प्राधिकरणले जनाएको छ ।

मर्जर प्रक्रियामा सामेल भएका बीमा कम्पनीहरुले प्राधिकरणबाट अन्तिम स्वीकृति दिएपछि मर्जर तोड्न नपाउने व्यवस्था छ । तर, प्रारम्भिक प्रक्रियामा नै कुरा नमिलेमा मर्जर प्रक्रिया अन्त्य गर्न पाउने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

यी दुवै कम्पनीको मर्जर कमिटीलाई प्राधिकरणमा बोलाई छलफल गर्दा मर्जरसम्बन्धी अन्य प्रक्रिया अघि बढाउन नसक्ने बताएको उनको भनाइ छ ।

‘हामीले यी दुवै कम्पनीहरुलाई बोलाई छलफल गरेका थियौं । छलफलमा मर्जर कमिटीले अन्य प्रक्रिया अघि बढाउन नसकिने बताएका थिए,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘मर्जर सम्बन्धी प्रारम्भिक प्रक्रियामा नै सहमति नमिलेपछि मर्जर प्रक्रिया अन्त्य गर्न हामीले सहमति दिएका हौ ।’

उनकाअनुसार कम्पनीहरुबीचमा स्वावप रेसियो, सञ्चालक समिति र मर्जर पश्चात बन्ने नयाँ कम्पनीको नाममा सहमति हुन नसकेको हो ।

प्रभुसँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

प्रभु र अजोड इन्स्योरेन्सलाई मर्जर प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएपश्चात अजोडले यूनाइटेडसँग मर्जर सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात युनाइटेड र अजोडबीच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।


क्लिकमान्डु