रेमिट्यान्स पठाएको प्रमाणका आधारमा मोबाइलसहितका सामान ल्याउन दिने तयारी



काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाएको प्रमाणका आधारमा मोबाइल लगायतका विभिन्न समान ल्याउन दिने गरी कानून संशोधन गर्ने तयारी गरिएको छ ।

सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगमा मालबस्तु सम्बन्धी सूचना, २०७७ मा संशोधन गर्दै विदेशबाट रेमिट्यान्स पठाएको रकमको प्रमाणका आधारमा भन्सार छुटमा विभिन्न सामान ल्याउन मिल्ने सीमा तोक्ने तयारी गरेको हो ।

एउटाभन्दा बढी मोबाइल ल्याउँदा भन्सार कार्यायलले राजस्व तिराउने र २ भन्दा बढी ल्याए जफत गर्ने गरेपछि केही दिन यता समाजिक सञ्जालमा नो रेमिट्यान्स अभियान चलेको थियो ।

२०७७ जेठ १५ गतेदेखि कार्यान्वयनमा आएको यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगमा मालबस्तु सम्बन्धी सूचना अनुसार विदेशबाट फर्किदा यात्रुहरुले एक थान ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ ल्याउन पाइने व्यवस्था छ ।

विगतदेखि नै यही सूचनाअनुसार यात्रुले एउटाभन्दा बढी मोबाइल फोन ल्याउन नपाउने कानूनी व्यवस्था रहेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले यो कानुन कार्यान्वयनमा कडाइ गरेको थिएन ।

तर, पछिल्लो समय लक्ष्यअनुसार राजस्व संकलन नहुनुको साथैं वैदेशिक रोजगारीमा जाने यात्रुलाई महँगा मोबाइल फोन बोकाउने बिकृती बढेपछि भन्सार कार्यालयले कडाइ गरेको थियो ।

गत बैशाख १३ गतेदेखि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा प्रतिबन्ध लाग्दासमेत बजारमा केही समय अगाडि सार्वजनिक भएको आइफोन १४ सिरिजका फोन छ्याप्छ्प्ती पाइएपछि भन्सार कार्यालयले कडाइ गरेको थियो ।

भन्सार कार्यालयले केही समयदेखि २ भन्दा बढी मोबाइल फोन ल्याउँदा जफत गर्दै आएको थियो ।

गत पुस १५ गतेदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याउँदै विदेशबाट फर्किदा भन्सार नतिरेर एउटा र भन्सार तिरेर थप एउटा फोन ल्याउन मिल्ने तर सो भन्दा बढी मोबाइल ल्याउँदा जफत हुने सार्वजनिक सूचना प्रकाशित गरेपछि भन्सार छुटमा एकभन्दा बढी मोबाइल ल्याउन नदिने नीति विवादित बनेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल एमडिएमएस प्रणाली कार्यान्वयन नगर्न निर्देशन दिँदासमेत भन्सार कार्यालयले फोन जफत गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगमा मालबस्तु सम्बन्धी सूचना, २०७७ अनुसार भन्सार कार्यालयले काम गर्दा समेत भन्सारका कर्मचारीलाई गाली गरिएको बताउँछन् ।

‘हामीले कानून अनुसार काम गरेका हौँ,’ पोखरेलले भने,‘कानून कार्यान्वयन गराउँदा समेत हामीलाई खेद्ने काम भएको छ । सरकारले भन्सार यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगमा मालबस्तु सम्बन्धी नयाँ नीति लियो भने कार्यालयले सोही अनुसार काम गर्छ ।’

भन्सार कार्यालयमा विदेशबाट फर्किने यात्रु र भन्सार अधिकृतबीच हरेक दिन विवाद बढुनुका साथैं रेमिट्यान्स पठाउने व्यक्तिलाई सरकारले अनावश्यक दु:ख दिने भन्दै आलोचना भएपछि सरकारले नयाँ कानून बनाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार रेमिट्यान्स पठाएको रकमको २० प्रतिशत बराबरको मोबाइल लगायतका विभिन्न सामान भन्सार छुटमा ल्याउन दिने गरी कानून संशोधनको तयारी भइरहेको छ ।

‘अहिले पनि यात्रुले २० लाख रुपैयाँ बराबरको समान भन्सार छुटमा ल्याउन पाउँछन् तर एक भन्दा बढी मोबाइल ल्याउन नदिएको भन्दै कर्मचारीसँग देनिक झगडा गर्ने क्रम बढ्यो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब हामीले यो सामान त्यो समान भन्दा पनि रेमिट्यान्स पठाएको प्रमाणका आधारमा निश्चित रकम बराबरको जुनसुकै सामान पनि ल्याउन दिने गरी कानून संशोधन गर्ने तयारी गरेका छौं ।’

अर्थ सचिव तोयम राया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा देखिएको समस्या तत्काल समाधान गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउँछन् ।

‘हामीले विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं,’ रायाले भने,’ वैदेशिक रोजगारीमा गएका र बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने व्यक्तिलाई सहुलियत दिनु पर्छ भन्ने मन्त्रालयको सोच छ ।’


क्लिकमान्डु