अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ: गोल्छा



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले २० बर्षअघि कान्तिपथमा रहेको फाईनान्स कम्पनी अहिले अन्तर्राष्ट्रिय स्तरको बैंक बन्नु उल्लेख्यनीय भएको बताएका छन् ।

सोमबार ग्लोबल आईएई र बीओके बैंकको मर्जरपश्चात् आयोजित एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले बैंक बलियो भएपछि अर्थतन्त्रमा सबलता आउने र यसले स्थिरता हुने उनको भनाइ थियो ।

बैंकले नाफा गर्नैपर्ने बताउँदै उनले बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्ने र अर्थतन्त्र सबल हुने बताए ।

आर्थिक परिदृश्यमा चुनौतिपूर्ण समयमा रहेको भन्दै उनले राजश्व घटेको, रोजगारी गुमाएको मुद्रास्फिति घटेको र उद्योगी व्यवसायीको मनोबल घटेको बताए । तर नयाँ सरकार आएसँगै केही सुधारका संकेत देखिएको उनले बताए ।

‘तरलतामा सुधार भएको छ भने रेमिट्यान्स बढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ’ उनले भने ।

गोल्छाले मौद्रिक नीतिमा अब क्याल्कुलेटिभ रिक्स लिन आग्रह गरे । अहिले निजी क्षेत्र निकै निरास रहेको भन्दै उनले यसलाई साथमा लिने हो भने देशको अर्थतन्त्र सवल बन्ने दाबी गरे ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले ब्याजदर घटाउन आग्रह गरे । अहिले बैंकको ब्याजदर घटाउनु पर्ने आवश्यकता रहेको भन्दै त्यसको सुरुवात ग्लोबल आइएई बैंकले गर्न सक्ने बताए ।

बढ्दो ब्याजरका कारण देशमा लगानीको वातावरण कम भएको उनको भनाइ थियो ।


क्लिकमान्डु