५ महिनामा ३७ हजार बीमा पोलिसी त्याग, नेपाल लाइफको मात्रै १३ हजार बढी



काठमाडौं । पाँच महिनामा जीवन बीमा कम्पनीहरुमा साढे ५ अर्ब रुपैयाँका ३७ हजार पोलिसी (समपर्ण,सरेण्डर) त्याग भएका छन् ।

चालु आवको पाँच महिना अर्थात मंसिरसम्ममा कम्पनीहरुमा ५ अर्ब ५७ करोड ६ लाख ६२ हजार रुपैयाँ बराबरका ३६ हजार ९३३ वटा पोलिसी त्याग भएका हुन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार मंसिर महिनामा कम्पनीहरुमा एक अर्ब एक करोड ६२ लाख ३१ हजार रुपैयाँका ७ हजार ६५० वटा पोलिसी त्याग भएका छन् ।

कम्पनीहरुमा कात्तिक महिनामा एक अर्ब ११ करोड ९७ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार ७४६ वटा पोलिसी त्याग भएका थिए ।

असोज महिनामा ७७ करोड ३२ लाख २८ हजार रुपैयाँका ६ हजार ६३ वटा पोलिसी त्याग भएका थिए । यस्तै, कम्पनीहरुमा भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँका ८ हजार ५२ वटा र साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए ।

नेपाल लाइफको मात्रै १३ हजार बढी, कुन कम्पनीको कति ?

लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३८.८९ प्रतिशत सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांक छ ।

मंसिर महिनासम्ममा नेपाल लाइफका १ अर्ब ९५ करोड ४० लाख ४२ हजार रुपैयाँका १३ हजार २५५ वटा बीमालेख सरेण्डर भएका छन् ।

जुन कुल समर्पण मूल्यको ३८.०८ प्रतिशत हुन आउँछ ।

मंसिर महिनासम्ममा लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी नेपाल) बाट एक अर्ब ३० करोड ३३ लाख रुपैयाँ बराबरका ४ हजार ९३८ वटा बीमा पोलिसी त्याग भएका छन् । जुन कुल समर्पण संख्याको २३.४० प्रतिशत र समर्पण मूल्यको १३.३७ प्रतिशत हो ।

राष्ट्रिय बीमा संस्थानमा ३३ करोड ४० लाख रुपैयाँ बराबरका ३ हजार ७०२ वटा बीमालेख सरेण्डर भएका छन् ।

सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफबाट १ करोड ९५ लाख रुपैयाँ बराबरका १२५ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.३४ प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.३५ प्रतिशत मात्रै हो ।

बीमितहरुले एशियन लाइफबाट ३ हजार ८७२ वटा, नेशनल लाइफबाट ३ हजार ५१६ वटा, मेट लाइफबाट १ हजार ११७ वटा, प्राइम लाइफबाट १ हजार ६१८ वटा र सूर्या लाइफबाट ८८२ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, आइएमई लाइफबाट २२२ वटा पोलिसी त्याग भएका छन् । यूनियन लाइफबाट ७ करोड १० लाख रुपैयाँ बराबरका १९८ वटा, ज्योति लाइफका ४ करोड ३७ लाख रुपैयाँ बराबरका ३०९ वटा, सन नेपाल लाइफका १ करोड ५२ लाख रुपैयाँ बराबरका १३५ वटा, रिलायन्स लाइफका २ करोड ५८ लाख रुपैयाँ बराबरका २९२ वटा, रिलायबल नेपाल लाइफका २ करोड ७० लाख रुपैयाँ बराबरका ५७९ वटा पोलिसी त्याग भएको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, सिटिजन लाइफका ३ करोड ९७ लाख रुपैयाँ बराबरका २१० वटा, सानिमा लाइफका ४ करोड ८८ लाख रुपैयाँ बराबरका ३३८ वटा, सानिमा लाइफका १ करोड ७० लाख रुपैयाँका १३३ वटा र प्रभु लाइफको ३ करोड २२ लाख रुपैयाँ बराबरका १९७ वटा बीमालेख त्याग भएका छन् ।

पोलिसी त्याग्नको संख्या घट्दो क्रममा

जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढ्दो क्रममा थियो ।

तर, पछिल्लो तथ्यांकअनुसार भने बीमितहरुले पोलिसी त्याग्ने क्रममा सुधार देखिएको हो ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार साउन महिनाको तुलनामा मंसिरमा पोलिसी त्याग्ने क्रममा सुधार देखिएको छ ।

साउन महिनाको तुलनामा मंसिर महिनामा पोलिसी सरेण्डर गर्नेको संख्या र रकम दुवै घटेको हो ।

साउन महिनाको तुलनामा मंसिरमा पोलिसी त्याग्नेको संख्या ९.१७ प्रतिशतले घटेको हो । अर्थात साउनको तुलनामा ७७२ वटा कम पोलिसी त्याग भएका हुन् ।

यस्तै, पोलिसी समर्पण रकम पनि ३२.८२ प्रतिशतले कमी हो । साउनमा १ अर्ब ५१ करोड २७ लाख रुपैयाँका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए । मंसिर महिनामा भने एक अर्ब एक करोड ६२ लाख रुपैयाँका ७ हजार ६५० वटा पोलिसी त्याग भएका छन् ।

बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था निर्देशकाले नै गरिदिएको छ । पछिल्लो समय प्राधिकरणले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको छ ।

प्राधिकणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ  ।

बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुको कारण बीमितलाई आर्थिक संकट पर्नु हो । बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरु बताउँछन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसारका पोलिसी किन्ने वातावरण सृजना नभएसम्ममा पोलिसी बीचमै बन्द हुने समस्या चलिरहने बीमकहरु बताउँछन् ।


क्लिकमान्डु