जीवन बीमा कम्पनीको व्यवसाय ५९ अर्ब ५१ करोडमाथि, १३ वटाको बढ्यो, कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २.९८ प्रतिशतले बढी हो । गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको मंसिर महिनासम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ गरी उक्त रकम संकलन गरेका हुन् ।

मंसिर मसान्तसम्मा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ८६ हजार ५०५ वटा रहेको बीमा प्राधिकरणले जनाएको छ ।

गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कवापत १५ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कवापत ४१ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त अवधिमा ९६ लाख १९ हजार ४४७ वटा बीमालेख जारी भएका थिए ।

१३ जीवन बीमा कम्पनीले बढाए व्यवसाय

यस अवधिमा १३ वटा कम्पनीले व्ययसाय बढाएका छन् । गत आवको यसै अवधिको तुलनामा नेशनल लाइफको व्यवसाय १५.७७ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा नेशनलले ५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

एलआइसी नेपालको व्यवसाय ६.६४ प्रतिशतले बढेर ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ६ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा एशियन लाइफको व्यवसाय २.८८ प्रतिशत, सूर्या लाइफको ०.२४ प्रतिशत, आइएमई लाइफको १८.६८ प्रतिशत, ज्योति लाइफको ५.४५ प्रतिशत, सन नेपाल लाइफको ०.४२ प्रतिशत, रिलायन्स लाइफको ५.३२ प्रतिशत, रिलायबल नेपाल लाइफको १०.८२ प्रतिशत, सिटिजन लाइफको ६.४१ प्रतिशत, सानिमा लाइफको ७.१९ प्रतिशत र महालक्ष्मी लाइफको १४.८५ प्रतिशतले बढेको छ ।

६ कम्पनीको व्यवसाय घट्यो

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांअनुसार गत आवको सोही अवधिको तुलनामा ६ कम्पनीको व्यवसाय घटेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय बीमा संस्थान, मेट लाइफको ४.३९ प्रतिशत, गुराँस लाइफको १४.०७ प्रतिशत, प्राइम लाइफको ३.९४ प्रतिशत, यूनियन लाइफको ६.०१ प्रतिशत र प्रभु लाइफको २.९५ प्रतितशतले व्यवसाय घटेको हो ।

व्यवसाय घट्ने यी कम्पनीमध्ये गुराँस लाइफको व्यसाय सबै भन्दा धेरै प्रतिशतले घटेको छ । गत आवको सोही अवधिको तुलनामा गुराँसको व्यवसाय १४.०७ प्रतिशतले घटेर एक अर्ब ११ करोड ५६ लाख रुपैयाँमा सीमित भएको हो । गुराँसले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब २९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा यूनियनको ६.०१ प्रतिशत, मेट लाइफको ४.३९ प्रतिशत, प्राइम लाइफको ३.९४ प्रतिशत, प्रभु लाइफको २.९५ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको १.५९ प्रतिशतले घटेको छ ।

यस अवधिमा राष्ट्रिय बीमा संस्थानको ५ अर्ब ५६ करोड १२ लाख रुपैयाँ, मेट लाइफले दुई अर्ब ९ करोड ५८ लाख रुपैयाँ, प्राइमले एक अर्ब ८४ करोड ९९ लाख रुपैयाँ, यूनियन लाइफले तीन अर्ब २७ करोड ७२ लाख रुपैयाँ, प्रभुले ८२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल लाइफ एक्लैले संकलन गर्यो १५ अर्ब बढी

नेपाल लाइफ एक्लैले १५ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन जीवन बीमा व्यवसायको २६.२६ प्रतिशत हुन आउँछ ।

गत आर्थिक वर्षको मंसिरसम्ममा इन्स्योरेन्सले १५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको तुलनामा इन्स्योरेन्सको व्यवसाय १.१६ प्रतिशतले बढेको हो ।


क्लिकमान्डु