५७.९% नेपालीमा वित्तीय साक्षरता, ७१.०६ प्रतिशत वयस्क जनसंख्याले प्रयोग गर्छन बचत खाता



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालीहरुको राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको देखाएको छ ।

राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धी गरेको अध्ययनअनुसार देशको वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको पाइएको हो । राष्ट्र बैंकले वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको छ । वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अङ्क प्राप्त गरेका छन् ।

वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अङ्क प्राप्त गरेका छन् । वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क वागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेस प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ ।

वित्तीय साक्षरता अङ्कमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशहरू बीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता रहेको अध्ययनले देखाएको छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अङ्क भने सबै प्रदेशहरूमा लगभग समान रहेको पाइन्छ ।

पुरुषको वित्तीय साक्षरता अङ्क ६१.८ प्रतिशत पाइएको छ जुन महिलाको तुलनामा ७.५ प्रतिशतले बढी रहेको हो । पुरुषको वित्तीय ज्ञानमा अङ्क ५६.५ प्रतिशत रहेको छ जुन महिलाको तुलनामा १७.९ प्रतिशतले बढी छ । वित्तीय ज्ञानमा लैङ्गिक भिन्नता सबै प्रदेशमा पाइन्छ ।

राष्ट्र बैंकअनुसार युवा पुस्ताहरु वित्तीय साक्षरता र यसका आयामहरु सबैमा अगाडि रहेका छन् । खासगरी वित्तीय ज्ञानमा युवा पुस्ताहरु बढी अगाडि छन् । त्यस्तै, १८–३० वर्षका मानिसरुको वित्तीय साक्षरता अङ्क ६३.२ प्रतिशत रहेको छ जबकि ६० वर्ष काटेकाहरुको वित्तीय साक्षरता २७.९ प्रतिशत पाइएको छ ।

त्यसैगरी, शिक्षाको तह बढ्दै जादा पनि वित्तीय साक्षरता बढ्दै गएको छ । रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेशा र कृषि क्षेत्र भन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रुपमा धेरंै रहेको अध्ययनले देखाएको छ ।

वित्तीय समावेशिताको स्थिति आकलन गर्न वित्तीय उपकरणहरुको प्रयोगलाई हेरिएको राष्ट्र बैंकको भनाइ छ । वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरूमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ ।

बचत उपकरणहरू मध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ भने लगानी कोष सबैभन्दा कम प्रतिशत जनसंख्याले प्रयोग गरेका छन । वयस्क जनसंख्याको .४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६.७ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् ।

यस्तै, लगभग दुई तिहाइ वयस्क जनसंख्या कम्तिमा ५ किसिमका वित्तीय उपकरणबारे सचेत छन् । अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमा बचत वा ऋणको लागि माथि निर्भर रहेका छन् ।

अध्ययनले वित्तीय प्रयोगका प्रायः सबै सूचकमा तुलनात्मक रुपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेस प्रदेशमा सबैभन्दा कम हिस्साले प्रयोग गर्ने गरेका छन् । भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ । कृषि, निर्माण र अन्य क्षेत्रहरूमा रहेका कामदारहरू कम प्रतिशतले भुक्तानी उपकरणको प्रयोग गर्छन् ।

अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिसहरु सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन् । २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा शेयर राखेका छन् । तुलनात्मक रुपमा युवा पुस्ताको उच्च हिस्साले बचत, लगानी उपकरणहरूको प्रयोग गर्ने गरेको पाइएको छ । अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसहरुको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गरेका छन् ।

सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका छन भने जम्मा १७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेका छन् । कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन् ।

राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन् । महानगर, कम उमेर समूह, उच्च स्तरको औपचारिक शिक्षा भएको जनसंख्या, स्वरोजगार र तलब तथा ज्यालादारीहरू, औपचारिक क्षेत्रका कर्मचारीहरू, उच्च सीप भएका जनशक्तिहरू र उच्च आय समूहहरुमा वित्तीय उपकरणहरूको प्रयोग गर्ने हिस्सा धेरै रहेको छ ।

वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रदेश, लिङ्ग, स्थानीय निकायको प्रकार, आयस्तर, शैक्षिक स्तर, पेशा र क्षेत्रगतरुपमा रहेको भिन्नतालाई सम्बन्धित सरोकारवालाहरूले सम्बोधन गर्न आवश्यक रहेको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ ।

अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल ९,३६१ नेपाली नागरिकहरुलाई छनोट गरिएको थियो । व्यक्ति चयन गर्नको लागि बहु–चरण नमूना छनोट विधि प्रयोग गरिएको थियो । पहिलो चरणमा सम्पूर्ण ७७ जिल्ला, दोस्रो चरणमा जिल्ला भित्रका सबै प्रकारका स्थानीय तहहरु (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका), तेस्रो चरणमा कम्तीमा एक स्थानीय तह, चौथो चरणमा कम्तिमा एक वडा र अन्तमा चयन गरिएको वडाको मतदाता सूचीबाट सिस्टम्याटिक रेन्डम विधिबाट उत्तरदाताहरु छनोट गरिएको थियो । छनोट भएका व्यक्तिको सर्वेक्षणको लागि वडामा अवस्थित सामुदायिक विद्यालयका शिक्षकहरूलाई गणकको रुपमा प्रयोग गरिएको थियो ।


क्लिकमान्डु