रिटेल मार्केट सेलवेज कम्पनीले एकै वर्ष गर्‍यो सवा २ अर्बको व्यापार



काठमाडौं । रिटेल मार्केट सेलवेज क्यास र क्यारी प्रालिले एकै वर्ष सवा २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब २७ करोड १० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब रुपैयाँ, सन् २०२० मा १ अर्ब ७३ करोड रुपैयाँ, सन् २०१९ मा १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

देशभर ३२ वटा डिपार्टमेन्ट स्टोर रहेको कम्पनीले सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेल्सबेरी एक्सप्रेस ब्रान्डमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको छ । कम्पनीअनुसार काठमाडौं, ललितपुर र पोखरामा डिपार्टमेन्ट स्टोर छन् ।

कम्पनीमा सुशीलमान प्रधानाङ्गको ५१ प्रतिशत, सृजना श्रेष्ठको ४२ प्रतिशत र नारायण पौडेलको ७ प्रतिशत हिस्सा छन् । कम्पनीको सिइओ सुशीलमान प्रधानाङ्गा हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९७ करोड ५४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको तथ्याङ्कअनुसार हरेक वर्ष २१.७ प्रतिशतले आम्दानी बढेको जनाएको छ । आम्दानी गरेकोमध्ये सबैभन्दा बढी एफएमसीजी वस्तुको हिस्सा ३६ प्रतिशत, खाद्यान्नको १० प्रतिशत र प्रोजनन आइटमको ९ प्रतिशत छ । जसमा उक्त तीन वटा वस्तुबाट सन् २०२२ मा ५५ प्रतिशत आम्दाजी गरेको उल्लेख छ ।

कम्पनीअनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा पनि व्यापार उच्च भएको जनाएको छ । साथै, कम्पनीले काठमाडौं र पोखरामा आफ्नो शाखा थप गरेकाले पनि आम्दानी सकारात्म रहेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२३ देखि सञ्चालनमा ल्याउने गरी महारजगन्जमा शाखा विस्तार गर्दै आएको छ । उक्त शाखा विस्तारले झनै आम्दानी बढ्ने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु