लुम्बिनी केबलकारको ९०% काम सकियो, २ महिनाभित्र सञ्चालनमा आउने 



काठमाडौं । आइएमई ग्रुपको लगानीमा निर्माणधिन लुम्बिनी केबलकार आउँदो २ महिनाभित्र सञ्चालनमा आउने भएको छ । । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १र२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने बताए।

उनले केबलकारको ९० प्रतिशत काम सकिएको जानकारी दिए । रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने भएको छ । बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ ।

केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी र सीमा क्षेत्रका भारतीय पर्यटकलाई केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।

सरकारका मुख्यसचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गरि निर्माणसम्बन्धी जानकारी लिएका छन् ।

लुम्बिनी केवलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ र मौलाकाली केबुलकार कम्पनीले करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएका हुन् । दुवै आयोजना सम्पन्न भएपछि मात्रै लागत यकिन हुने छ ।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए ।

केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न उनले आग्रहसमेत गरे।


क्लिकमान्डु