स्वेच्छिक अवकाश रोज्ने बैंक अफ काठमाण्डूका कर्मचारीलाई २७ महिनासम्मको तलब, बेस रेटमै ऋण



काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा रहेको बैंक अफ काठमाण्डू (बिओके)ले कर्मचारीहरुलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ ।

बैंकले आगामी साताको मंगलबारसम्म स्वेच्छिक अवकासका लागि कर्मचारीहरुलाई आह्वान गरेको छ । स्वेच्छिक अवकास योजनामा ४० वर्षमाथिका कर्मचारी मात्रै सहभागी हुन पाउने छन् ।

बैंकले स्वेच्छिक अवकास रोज्ने कर्मचारीलाई एकमुष्ठ २७ महिनासम्मको तलब दिएर बिदा गर्न योजना ल्याएको हो ।

बैंकले एसिस्टेन्ट म्यानेजर देखि म्यानेजरसम्मका कर्मचारीलाई सिनियर म्यानेजरदेखि माथीका कर्मचारीभन्दा १ महिनाको बढी तलब दिने गरी स्वेच्छिक अवकास योजना सार्वजनिक गरको छ ।

हाल अफिसर र असिस्टेन्ट तहका कर्मचारीलाई स्वेच्छिक अवकास योजना ल्याइएको छैन ।

बैंकका २५ वर्ष वा सो भन्दा बढी काम गरेका एसिस्टेन्ट म्यानेजर देखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकास रोज्दा एक मुष्ट २७ महिनामा तलब पाउने भएका छन् । २५ वर्ष वा सो भन्दा बढी काम गरेका सिनियर म्यानेजरदेखि माथिका कर्मचारीले भने एकमुष्ट २६ महिनाको तलब पाउने छन् ।

२० देखि २५ वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजर देखि म्यानेजरसम्मका कर्मचारीलाई २५ महिनाको तलब दिने योजना बैंक अफ काठमाण्डूले सार्वजनिक गरेको छ । स्रोतका अनुसार बैंक अफ काठमाडौंमा २० देखि २५ वर्ष काम गर्ने कर्मचारीको संख्या निकै ठूलो छ ।

२० देखि २५ वर्ष काम गरेका सिनियर म्यानेजरदेखि माथिका कर्मचारीले भने २४ महिनाको तलब पाउने छ ।

बैंकमा ५ वर्षसम्म काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा ११ महिनाको तलब पाउने छ । यस्तै, ५ वर्षसम्म काम गरेका सिनियर म्यानेजरदेखि माथीका कर्मचारी स्वेच्छिक अवकाशमा जाँदा १० महिनाको तलब पाउने छ ।

५ देखि १० वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा १६ महिनाको तलब दिने योजना बनाएको बैंक अफ काठमाडौंले सिनियर म्यानेजरदेखि माथिका कर्मचारीलाई भने १५ महिनाको तलब दिने छ ।

१० देखि १५ वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा २१ महिनाको तलब पाउँदा सिनियर म्यानेजरदेखि माथीका कर्मचारीलाई भने २० महिना पाउने छन् । त्यसैगरी १५ देखि २० वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारी स्वेच्छिक अवकाशमा जाँदा २३ महिनाको तलब दिने बैंक अफ काठमाण्डूले सिनियर म्यानेजरदेखि माथिका कर्मचारीलाई भने २२ महिनाको तलब दिने छ ।

स्वेच्छिक अवकाश योजनामा सहभागी भएर सेवानिवृत्त हुने कर्मचारीले बैंकबाट ऋण लिएको भए ऋण अवधी समाप्त नहुँदासम्म बेस रेटमै ऋण दिने योजना बैंकले ल्याएको छ ।

ग्लोबल आएमइ बैंकसँग मर्जरपछि कर्मचारीको संख्या आवश्यकताभन्दा धेरै हुने भएकाले बैंक अफ काठमाडौंले स्वेच्छिक अवकाशको योजना सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको योजनाबाट अधिकांश कर्मचारी भने सन्तुष्ट देखिएका छन् ।


क्लिकमान्डु