ट्विटरले हटाउँदै १५० करोड प्रयोगकर्ताको अकाउन्ट



काठमाडौं । ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्मबाट करोडौं अकाउन्टलाई हटाउने जानकारी दिएका छन् ।

उनले निष्क्रिय रहेका करोडौं प्रयोगकर्ताहरुको अकाउन्टलाई हटाउने घोषणा गरेका हुन् ।

मस्कले ट्विट गर्दै भनेका छन्, ‘ट्विटरले छिट्टै नै १.५ बिलियन (१५० करोड) अकाउन्टहरुको ‘नेम स्पेस’लाई खाली गर्न सुरु गर्ने छ।’ उनले ट्विटरमा लामो समयदेखि निक्रिय रहेका प्रयोगकर्ताहरुको अकाउन्टलाई हटाएर नेम स्पेस खाली गरिने जनाएका हुन्।

ट्विटरको अधिग्रहण गरेपश्चात् मस्कले थुप्रै परिमार्जनहरु गरिसकेका छन् ।

हाल ट्विटरमा मासिक रुपमा २२ करोडभन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट ७.६ करोड, जापानबाट ५.८ करोड र भारतबाट २.३ करोड प्रयोगकर्ताहरु रहेका छन् ।

हालसम्म मस्कले ट्विटरमा गरेका प्रमुख परिवर्तनहरुमा आधाभन्दा धेरै कर्मचारीलाई हटाउने र ट्विटर प्रमाणिकरणलाई सशुल्क बनाउनेजस्ता निर्णयहरु रहेका छन् ।

ट्विटरलाई दैनिक ४० लाख अमेरिकी डलर नोक्सान भएको भन्दै उनले केही साताअघि कम्पनीका ३५ सय हाराहारी कर्मचारीलाई बर्खास्त गरेका थिए । त्यस्तै, केही दिनअघि मात्रै ट्विटरले आफ्नो प्रमाणिकरण सुविधालाई सशुल्क बनाउँदै विभिन्न देशमा पुनः सञ्चालनामा पनि ल्याएको थियो ।


क्लिकमान्डु