विद्युतीय भुक्तानीमार्फत बाजी खेले कारबाही हुन्छ : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंक अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी नखेल्न आग्रह गरेको छ ।

जुवा तथा बाजीजन्य बेटिङ गैर कानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी आग्रह गरेको हो ।

विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समूह/संस्थालाई कानूनी कारबाही हुने तथा उनीहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकबाट इजाजत / अनुमतिपत्रप्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ ।

कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा जानकारी दिन बैंकले अनुरोध गरेको छ ।
विश्वकप फुटबलमा अनलाइन जुवा तथा बाजी खेल्नेहरुलाई लक्षित गरी राष्ट्र बैंकले सूचना जारी गरेको हो ।


क्लिकमान्डु