धितोपत्र बोर्डले बल्ल खोल्यो ५ महिनादेखि थन्किएको बुक बिल्डिङबाट आइपीओ निष्काशन गर्ने फाइल



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि अड्काएर राखेको बुक बिल्डिङ विधिबाट सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने फाइल बल्ल खोलेको छ ।

बोर्डले सर्बोत्तम सिमेन्ट र रिलाइन्स स्पिनिङ मिललाई आवेदन दिएको ५ महिनापछि पहिलो कमेन्ट पठाउँदै बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रक्रिया औपचारिकरुपमा अघि बढाएको हो ।

बोर्डले पठाएको कमेन्ट सकरात्मक र सन्तोषजनकनै रहेको सम्बन्धीत कम्पनी र उनीहरुले नियुक्ति गरेका बिक्री प्रबन्धकहरुले प्रतिक्रिया दिएका छन् ।

ढिलै भएपनि धितोपत्र बोर्डले कमेन्ट पठाएर यो प्रक्रियालाई अघि बढाएको उनीहरुले बताएका छन् । बोर्डले दुबै कम्पनीलाई मंगलबार कमेन्ट पठाएको हो ।

‘बोर्डले कमेन्टमा भाषागत त्रुटि सच्याउन र केही नपुगेका कागजातहरु पेश गर्न भनेको छ,’ स्रोतले भन्यो, ‘मूल्य लगायतका अन्य विषयमा कुनै पनि कमेन्ट पठाएको छैन । यसको अर्थ ढिलै भएपनि बोर्ड नेतृत्वले यो प्रक्रियालाई अघि बढाएको छ ।’

सर्बोत्तम सिमेन्टले गत असार २८ गते र रिलाइन्सले ३१ गते बोर्डमा आवेदन दिएका थिए । हाल सर्वोत्तम ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्ने योजनामा छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स १९ लाख २६ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने तयारीमा छ। धितोपत्र बोर्डसमक्ष रिलायन्सले ७ लाख ७० हजार कित्ता र सर्वोत्तमले २४ लाख कित्ता निष्काशनका लागि अनुमति माग्दै निवेदन दिएका हुन् । बाँकी रहेको ६० प्रतिशत कित्ता सर्वसाधारणलाई जारी गरिनेछ

 दुवैको सेयर निष्काशन तथा बिक्रीका लागि नियुक्त प्रमुख प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नै रहेको छ। सर्वोत्तममा एनआईबीएल र प्रभु क्यापिटल पनि सह-बिक्री प्रबन्धकमा छन्। रिलायन्स स्पिनिङको ग्लोबल आइएमई क्यापिटल मात्रै हो। 

सर्बोत्तमको न्यूनतम मूल्य ५०१ रुपैयाँ हुनेछ भने अधिकतम मूल्य ७५१ रुपैयाँ हुनेछ ।

नेपालका लागि नयाँ प्रयोग गर्न खोजिएको बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशनको प्रक्रिया नियामक धितोपत्र बोर्डबाटै काम नहुँदा ढिलो हुँदै आएको छ ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले सर्बोत्तम सिमेन्टको सेयर सस्तो मूल्यमा किनेपछि विवादमा आएको थियो । पछि ढुंगानामाथि छानविन भयो । उनलाई सरकारले बर्खास्त गर्यो । ढुंगानाले अदालतमा हालेको मुद्दा बिचाराधनी अवस्थामा छ ।

रिक्त रहेको अध्यक्ष पदमा सरकारले व्यवसायी रमेश हमाललाई नियुक्ति गर्यो । हमालबाट केही छिटो काम होला कि भन्ने अपेक्षामा रहेका पुँजी बजारका सरोकारवाला पक्षहरु पनि उनको कार्यशैलीदेखि आजित भएका छन् ।

धितोपत्र बोर्डको नेतृत्वको रवैयाका कारण नेपालमा बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न कम्पनीहरु निरुत्साहित भएको सरोकारवालाहरुको टिप्पणी छ ।


क्लिकमान्डु