४३.७८ प्रतिशतमा बीमाको पहुँच, व्यवसाय भने घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४३.७८ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।

बीमा प्राधिकरणकाअनुसार (म्यादी,लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) बीमाको पहुँच ४३.७८ प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १३.४० प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बीमाको पहुँच ३०.३८ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी र लघु म्यादी जीवन बीमालेख सहित बीमाको पहुँच ३९.७९ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेखसहित २८.४४ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।

यस्तै, बीमाको दायरामा आएको जनसंख्या (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) १६.५९ प्रतिशतमा पुगेको छ ।

जीवन बीमाको दायरा गणना गरिँदा प्रतिव्यक्ति बीमालेखलाई आधार मानेर गरिने प्राधिकरणको भनाइ छ । सामुहिक बीमालेखलाई पनि प्रतिव्यक्ति बीमालेखमा गणना गरिएकाले बीमाको दायरा उल्लेख्यरुपमा बढेको प्राधिकरणको भनाइ छ ।

व्यवसाय भने २.५३ प्रतिशतले घट्यो

प्राधिकरणकाअनुसार पहुँच बढे पनि व्यवसाय भने घटेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क २.५३ प्रतिशतले घटेर ५९ अर्ब ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ६० अर्ब ९१ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

गत आवको यसै अवधिको तुलनामा जीवन बीमा व्यवसाय ४.७९ प्रतिशतले घटेर ४६ अर्ब १ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको कात्तिक महिनासम्ममा कम्पनीहरुले ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँको कुल व्यवसाय गरेका थिए ।

निर्जीवन बीमा व्यवसाय भने बढेको छ । गत आवको सोही अवधिको तुलनामा निर्जीवन बीमा व्यवसाय ६.१६ प्रतिशतले बढेर १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँमा पुगेको छ । गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले १२ अर्ब ५८ करोड २८ लाख रुपैयाँको कुल व्यवसाय गरेका थिए ।

प्राधिकरणकाअनुसार कात्तिसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ११०.०२ प्रतिशत र अन्य जीवन बीमालेख ४२.५५ प्रतिशतले बढेको छ । कुल जीवन बीमालेख संख्या ४६.६५ प्रतिशतले बढेर १ करोड ३९ लाख ४२ हजार ३०९ वटा पुगेको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमालखे सहित (१ करोड ३९ लाख ४२ हजार ३०९ वटा बीमालेख जारी भएको प्राधिकरणको तथ्यांक छ । गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ९५ लाख ७ हजार ४२१ वटा बीमालेख जारी भएका थिए ।

यस अवधिमा वैदेशिक रोजगारका १२ लाख १२ हजार ४६२ वटा बीमालेख जारी भएका छन् ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा जारी भएका बीमालेखको संख्या भने घटेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुमा जारी हुने बीमालेखको संख्या ६.७८ प्रतिशतले घटेर ९ लाख १९ हजार १३८ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुमा ९ लाख ८५ हजार ९४७ वटा बीमालेख जारी भएका थिए ।

यस अवधिमा बीमा कम्पनीहरुका ३ हजार ३५७ वटा शाखा कार्यालयहरुमा ११ हजार ८२० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।


क्लिकमान्डु