बालेनको कप्तानीमा फुटबल, खायो ६ गोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन् ।

सोमवार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन् ।

उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन् ।

जनप्रतिनिधिहरुले खेल हारेपनि फुटबल आयोजनाको उद्देश्य पूरा भएको उनको भनाइ छ ।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।

यो वर्ष पनि महानगरले सोमवार काठमाडौंको दशरथ रंगशालामा फुटबल आयोजना गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो ।

प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।

जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।


क्लिकमान्डु