विराटनगर भन्सारका कर्मचारीमाथि ‘तस्कर’ले गरे ढुंगामुढा, सुरक्षा निकायले असहयोग गरेको आरोप



विराटनगर । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले शान्तिसुरक्षाको माग गरेका छन् । ज्यान मार्ने धम्की आएको भन्दै उनले शान्तिसुरक्षाको माग गरेका हुन् ।

प्रहरीको मिलेमतोमा तस्करी मौलाएको र नियन्त्रणको प्रयासमा असहयोग गरेको भन्दै आवश्यक शान्ति सुरक्षा माग गरी उनले विज्ञप्ति जारी गरेका छन् ।

चालु आर्थिक वर्षमा राज्यको राजस्व लक्ष्यको तुलनामा प्रगति अत्यन्तै न्यून भएको छ । त्यसको बृद्धिको वैकल्पिक उपाय अवलम्बन गर्दा तस्करहरुले आक्रमण गर्ने स्थिति आएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

तस्करहरुले ज्यान मार्ने धम्की दिएकोले आईसीपीबाट ६ किलोमिटर दूरीमा रहेको क्वाटरसम्म आफू पुग्न र कर्मचारीलाई काम सकेर गन्तव्यतर्फ फर्किन ज्यान जोखिम भएको भन्दै उनले असुरक्षा महसूस गरेको विज्ञप्तिमा जनाएका छन् ।

सीमा प्रहरी चौकी रानीको मूल गेटअगाडि कर्मचारीमाथि ढुंगामुढाको भएको र सो घटना सीसी टिभी फुटेजमा रेकर्ड रहेको भन्सार प्रमुख सापकोटोले बताएका छन् । सुरक्षा व्यवस्था कडा पार्दै चोरी तस्करी नियन्त्रणका लागि पहल गरिदिन उनले माग गरे ।

शुक्रबार राति गस्तीका क्रममा भन्सार कार्यालयका कर्मचारीहरूमाथि तस्करले ढुंगामुढा र ज्यानमार्ने धम्की दिएको उनले दाबी गरेका छन् ।

यो घटनाले प्रहरीको सेटिङमा तस्करी मौलाएको भन्सार कार्यालयको आरोप छ । विराटनगर भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रणमा सुरक्षा निकालयले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थमन्त्रालयसँग शान्तिसुरक्षाको सहयोग आवश्यक परेको बताएको हो ।

भन्सार कार्यालयको कार्यक्षेत्र भित्रपर्ने ३ नम्बर गेट सीमा प्रहरी चौकी रानीको अगाडिबाट तस्करी भइरहेको सूचना पाएपछि नियन्त्रणमा लिन गएका कर्मचारीलाई तस्करले ढुंगामुढा गरी गर्दा प्रहरी मुखदर्शक भएको भन्सार कार्यालय प्रमुखको आरोप छ।

दुईवटा मालवाहक सवारी सीमा प्रहरी चौकी रानी अगाडि रोकिएको थियो । भारतबाट १५ जनाको समूहमा आएका व्यक्तिहरुले लोड भएको गाडीबाट सामान तस्करी गरेर सीमा कटाउने गरेको बेला भन्सारको टोली पुगेको थियो ।

त्यसबेला भन्सार गस्तीमा खटिएको टोलीमाथि तस्करको उक्त समूहले आक्रमण गरेर गाडी र तस्करी भइरहेको सामान खोसेर भन्सार कटाएको उनले विज्ञप्तिमा भनेका छन् ।


क्लिकमान्डु