ग्लोबल आइएमई बैंकका सीईओको तलब भत्ता २ करोड बढी, सञ्चालकले कति लिए भत्ता ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक वर्षमा तलब, भत्ता तथा विभिन्न सुविधा बापत २ करोड बढी दिएको छ ।

बैंकले सीईओ बज्राचार्यलाई आर्थिक वर्ष २०७८-०७९ मा उक्त रकम तलब भत्ता दिएको हो । जसमा तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ दिएको छ भने भत्ता बापत ५० लाख ४० हजार, सञ्चय कोषमा ७ लाख ५९ हजार ६ सय, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशैं भत्ता १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यस्तै बैंकले कार्यकारी प्रमुखलाई राम्रो कार्यसम्पादन गरेको भन्दै बोनसको रुपमा ४९ लाख ७६ हजार ३३४ रुपैयाँ दिएको छ । यस्तै टेलिफोन र मोबाइल खर्च ६६ हजार २७० रुपैयाँ, सवारी साधन मर्मत ५५ हजार ४१३ रुपैयाँ र इन्धन बापत २ लाख ५८ हजार ८७४ रुपैयाँ खर्च गरेको छ ।

बैंकले अन्य सहायक प्रवन्धक तह सम्मका पदाधिकारीहरुलाई तलब, भत्ता सञ्चय कोषबापत २४ करोड २२ लाख ६१ हजार ६०७ रुपैयाँ प्रदान गरेको जनाएको छ । कम्पनी सचिवलाई यस वर्ष पारिश्रमिक बापत १९ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ ।

सञ्चालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत १७ हजार तथा सञ्चालक सदस्यहरुलाई सञ्चालक समितिको बैठक भत्ता बापत १५ हजार र उप समितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाई १५,००० बैठक भत्ता प्रदान गरिएको छ । सञ्चालकहरुलाई पत्रपत्रिका तथा यातायात सुविधा वापत मासिक १०,००० हजार प्रदान गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता १६ लाख ७८ हजार र सञ्चालक समितिको उप समितिका सदस्यहरुलाई बैठक भत्ता बापत जम्मा ८ लाख १० हजार प्रदान गरिएको छ । समिति बैठकहरुको लागि २४ लाख ४६ हजार ९० रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु