एकीकृत समाजवादीका महासचिवले भने: मनाङेबाट केही सिक्नुपर्छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दिपक मनाङे)बाट सिक्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा मनाङेलाई स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर मनाङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए ।

महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्कसमेत गरे ।

गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने उनले बताए ।

गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास भुसालले गरे । महासचिव भुसालले भने, ‘मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन । विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ । भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ । राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढ्छु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ । त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ । र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ । एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ । त्यसबाट सिक्नु पर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दाबी गरे ।

उनले युवा तथा खेलकुद मन्त्रीको रुपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको जिकीर गरे ।

मनाङ प्रदेश २ का स्वतन्त्र सांसद विजयी गुरुङ मंसिर २० गते (हिजो) जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए ।


क्लिकमान्डु