महाकालीको धार फर्किने गरि तटबन्ध बनाएकोमा नेपालले भारतलाई पठायो कूटनीतिक नोट



काठमाडौं । नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा नेपालले भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासलाई कूटनीतिक नोट पठाएको हो । उक्त नोटमा सीमा क्षेत्रमा संरचना निर्माण गर्दा दुवै देशको सहमति र समन्वय हुनु पर्ने उल्लेख गरिएको छ ।

सीमामा भारतीय पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि दुई देशका स्थानीयबीच दोहोरो ढुङ्गामुढा भएको थियो ।

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।


क्लिकमान्डु