बीबीसी शीर्ष १ सय महिलाः नेपालबाट शून्य, भारतका चार



काठमाडौं । बीबीसीले हरेक वर्ष सार्वजनिकजस्तै यो वर्ष पनि शीर्ष सय महिलाहरुको सूचीमा सार्वजनिक गरेको छ । यस वर्षको बीबीसी शीर्ष सय महिलाको सूचीमा नेपालबाट भने कोही पनि पर्न सकेनन् ।

बीबीसीले हरेक वर्ष संसारभरबाट विभिन्न मुद्दामा काम गरिरहेका महिलाहरुको सूची सार्वजनिक गर्ने गरेको छ । यस सूचीमा महिला स्वयंसेविकादेखि महिला नेताहरु र उनीहरुको उपलब्धी तथा संघर्षको कथालाई प्रस्तुत गरिन्छ ।

यस वर्ष सूचीमा भारतबाट भने चार जना महिलाहरु परेका छन् । जसमा अन्तरिक्ष इन्जिनियर शिरिशा बान्द्ला, अभिनेत्री प्रियंका चुपडा जोनस, सामाजिक अभियन्ता स्नेहा जवाले र लेखक गितान्जली श्री रहेका छन् ।

त्यस्तै युक्रेनको युद्ध मैदानमा कार्यरत महिला स्वास्थ्यकर्मिदेखि इरानको विरोध प्रदर्शनमा संलग्न महिलाहरुलाई पनि यो सूचीमा सामेल गरिएको छ । युक्रेनका राष्ट्रपतिकी पत्नी ओलेना जेलेन्स्का र इरानी खेलाडी एलनाज रेकाबी यो सूचीमा सामेल छन् । त्यस्तै, अमेरिकी गायिका तथा संगीतकार बिली आइलिश पनि रहेकी छिन् ।

१० औं वर्षमा रहेको बीबीसी शीर्ष सय महिला कार्यक्रममा सामेल भएका महिलाहरु विभिन्न मुद्दाहरुमा प्रत्यक्ष परिवर्तन ल्याउने गरि काम गरेका महिलाहरु हुन् । उनीहरुमाथि आफ्नो रेडियो, टेलिभिजन, वेबसाइटलगायतका अन्य माध्यमबाट विशेष कार्यक्रम निर्माण गरेर प्रसारण गर्ने बीबीसीले जनाएको छ ।

बीबीसी शीर्ष सय महिलाको सूचीमा यसअघि नेपालबाट सपना रोका मगर परेकी थिइन् । २०२० को सूचीमा सामेल उनलाई कोरोना महामारीको समयमा गरेको कामलाई ध्यानमा राख्दै उनलाई सूचीमा राखिएको थियो ।


क्लिकमान्डु