प्रदेश १ को कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान घट्दो, उद्योग र सेवा क्षेत्र बढ्दो



काठमाडौं । प्रदेश १ को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान तुलनात्मक रुपमा घट्दो देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा प्रदेश १ को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले पुर्‍याएको योगदान गत वर्षको तुलनामा घटेको देखिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश १ को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा भने यो योगदान घट्ने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशतमा सीमित हुने देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश १ को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानको बृद्धिदर २.८५ प्रतिशत थियो । तर, चालु आवमा बृद्धिदर पनि घटेर २.३० मा सिमित हुने प्रारम्भिक अनुमान गरिएको छ ।

आव २०७७/०७८ मा कृषि क्षेत्रबाहेकको क्षेत्रमा उद्योग र सेवा क्षेत्रमा क्रमशः ४.५१ प्रतिशत र ४.१९ प्रतिशतको बृद्धि देखिएको थियो । चालु आवको प्रारम्भिक अनुमानमा उद्योगतर्फ १०.१९ प्रतिशत र सेवा क्षेत्रतर्फ ५.९३ प्रतिशतले बृद्धि हुने देखिएको छ ।

कुल ग्राहस्थ उत्पादनमा उद्योग र सेवा क्षेत्रले पुर्याउने योगदान पनि चालु आवमा बढ्ने अनुमान गरिएको छ । आव २०७७/०७८ मा उद्योगले पुर्याएको योगदान १३.७ प्रतिशत रहेकोमा चालु आवमा १४.३ प्रतिशत हुने र सेवा क्षेत्रतर्फ ६१.४ प्रतिशत रहेको योगदान बढेर ६१.८ प्रतिशत हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु