एसएलएफ मार्फत उपयोग गरेको रकम समयमै नदिए ओभरनाइट तरलता सुविधाका रूपमा गणना गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा दोस्रो संशोधन गरेको छ ।

नयाँ कार्यविधिमा दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुनेछ ।

यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंकदरमा गरिनेछ । सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिन भन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत बैंकदरमा नै गरिनेछ ।

नयाँ व्यवस्था अनुसार ओभरनाइट तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको नियमानुसार कायम गर्नुपर्ने बैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाइने छैन ।

तीन महिना अवधिका लागि दैनिक तरलता सुविधा सीमा लिनुपर्नेछ । यस्तो सुविधावापत धितो राखिएका सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागको स्वीकृतिमा त्रैमासिक रुपमा परिवर्तन वा थपघट गर्न सकिने छ र सोही अनुसार यस्तो सुविधाको नयाँ सीमा कायम हुनेछ ।

उपत्यका बाहिरका संस्थाले धितो राख्नुपर्ने सुरक्षणपत्रको सक्कलै प्रति राष्ट्र बैंकको नजिकको कार्यालयमा पेश गर्नुपर्नेछ । कार्यालयले मौद्रिक व्यवस्थापन विभागलाई सोको जानकारी गराई उक्त विभागले सम्बन्धित संस्थाको सीमा कायम गरिदिनुपर्नेछ ।

दैनिक तरलता सुविधावापत धितो रहेका सुरक्षणपत्रहरू खुलाबजार कारोबार, अन्तर बैंक सापटी लगायत अन्य कुनै पनि प्रयोजनमा दोहोरो धितोको रुपमा एकैसाथ प्रयोग गर्न वा बिक्री गर्न पाइने छैन । दैनिक तरलता सुविधावापत धितोमा राखिएका सुरक्षणपत्र सुविधा अवधिभर यस बैंकका नाममा रोक्का रहनेछ ।


क्लिकमान्डु