आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार गर्न आईएमएफलाई सिबिफिनको आग्रह



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग भेटवार्ता भएको छ ।

छलफलमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आईएमएफका प्रतिनिधिसमक्ष आग्रह गरे ।

सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफल बैठकमा आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिदा ब्याजदर समेत उच्च भइ मुद्रास्फिति बढेको बताए ।

वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने बताए ।

नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको वीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा सुझाव दिए ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए ।

उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्नेमा वहाँको विशेष जोड रहेको थियो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आइएमएफ र सिबिफिनवीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको औल्याउँदै यस भेघघाट तथा छलफलले नेपालको समग्र अर्थतन्त्रलाई गतिशिलता र स्थायित्व प्रदान गर्न संभावनाका ढोकाहरु उजागर गर्ने अपेक्षा व्यक्त गरे ।


क्लिकमान्डु