आर्थिक क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : पौडेल



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिले आर्थिक क्षेत्रमा असाधारण समस्या रहेकोभन्दै समस्या समाधान गर्न सरकारले तत्काल काम गर्नु पर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रसँग छलफल गरेर समस्याको समाधान गर्नुपर्ने बताए ।

अहिलेको अवस्था कायमै रहे आगामी दिनमा निजी क्षेत्रले हात उठाउने सम्भावना रहेकोभन्दै तत्कालै सरकारले निजी क्षेत्र, सहकारी लगायतसँग बसेर समस्याको समाधान गर्नुपर्ने बताए ।

उनले कसको नेतृत्वमा सरकार बन्दा देशको अर्थतन्त्र कति माथी उठ्यो, कति उठेन भनेर अध्ययन गर्न आवश्यक रहेको बताए । पछिल्लो एक वर्षमा देशको अर्थतन्त्र कसको कारण खुम्चिएको हो त्यसको जिम्मा सम्बद्ध पक्षले लिनुपर्ने उनले बताए ।

अहिलेको जनादेशले मुलुकमा राजनीतिक स्थिरता नहुने भन्दै उनले ५ वर्षको सरकार बन्ने स्थिति नरहेको उल्लेख गरे ।

अर्थतन्त्रको समस्या समाधान गर्न, कानुन संशोधन गर्न, आर्थिक क्षेत्रमा अबरोध गरेका कानुन संशोधन गर्न सरकार, निजी क्षेत्र, सहकारी लगायत सरोकारवाला निकायले छलफल गरेर समस्याको समाधान तत्काल समाधान सरकारले गर्नुपर्ने बताए ।


क्लिकमान्डु