भारतमा आजबाट रिटेल ई–रुपीको सुरुवात



एजेन्सी । भारतीय रिर्जव बैंक (आरबीआई)ले आजबाट महत्त्वाकांक्षी ‘रिटेल डिजिटल रुपी (ई–रुपी)’को सुरुवात गर्दैछ । सुरुवातमा ‘पाइलट प्रोजेक्ट’का रुपमा सीमित क्षेत्रमा मात्रै कार्यान्वयन गरेर यसको प्रभावकारिता हेर्ने गरि आजबाट भारतमा डिजिटल मुद्रा सार्वजनिक हुन लागेको हो ।

आजबाट सार्वजनिक भएको डिजिटल मुद्रामा यसको उत्पादन, वितरण र खुद्रामा प्रयोगको सम्पूर्ण प्रक्रियालाई निगरानीमा राखेर नियालिने जनाइएको छ । यहि प्रयोगमार्फत प्राप्त तथ्यांकहरुलाई आरबीआईले डिजिटल मुद्रामा आवश्यक बदलावहरुका लागि उपयोग गर्नेछ । सार्वजनिक रुपमा सम्पूर्णको निम्ति उपलब्ध हुनुअघि आरबिआईले यसलाई सिमित क्षेत्रमा सार्वजनिक गर्न लागेको हो ।

आरबीआईले जनाएअनुसार यसरी सार्वजनिक गरिएको डिजिटल मुद्राको प्रयोग निश्चित ग्राहक र व्यापारीहरुको संगठित समूहका लागि दिइनेछ भने यसको कारोबार पनि निश्चित स्थानमा मात्रै गरिनेछ ।

डिजिटल मुद्रालाई बैंकमार्फत वितरण गरेर प्रयोगकर्ताको फोन वा अन्य उपकरणमा रहेको डिजिटल वालेटमा राख्न सकिनेछ । डिजिटल वालेटबाट नै यसलाई व्यक्तिदेखि व्यक्ति वा व्यक्तिदेखि व्यापारीबीच कारोबार गर्नका लागि प्रयोग गरिनेछ ।

आजबाट सार्वजनिक गरिएको ‘ई–रुपी’ मुम्बई, नयाँ दिल्ली, बैंगलोर र भुवनेश्वर क्षेत्रभित्र निश्चित व्यक्तिहरुका लागि प्रयोग गर्न उपलब्ध गराइनेछ । त्यसपश्चात यसलाई भारतका अहमदाबाद, गंगटोक, गुवाहाटी, हैदराबाद, इन्दोर, कोच्चि, लखनउ, पटना र सिम्लाजस्ता क्षेत्रहरुमा विस्तार गरिने आरबिआईले जनाएको छ ।

भारत सरकारले लामो समयदेखि काम गरिरहेको डिजिटल मुद्रा ‘ई–रुपी’ ब्लकचेन प्रविधिमा आधारित परियोजना हो । यसलाई होलसेल र खुद्रा गरि दुई प्रकारमा प्रयोगमा ल्याउने आरबिआईको योजना छ । ‘ई–रुपी’ भारत सरकारको आधिकारीक डिजिटल करेन्सी हो, जसलाई कागजी मुद्राको विकल्पको रुपमा ल्याएको छ ।


क्लिकमान्डु