प्रदेश १: २८ मध्ये ६ क्षेत्रमा गणना सकिँदा एमालेको ४, कांग्रेस २ जित, बाँकी क्षेत्रमा कसको अग्रता ?



काठमाडौं । प्रदेश १ मा रहेका २८ निर्वाचन क्षेत्रहरुमध्ये ६ वटामा मतगणना सकिएको छ । बाँकी रहेका २२ निर्वाचन क्षेत्रमा हाल मतगणना जारी रहेको छ ।

हालसम्म मतगणनामा सकिएका ६ मध्ये नेकपा एमाले चार निर्वाचन क्षेत्रमा जित निकालेको छ भने बाँकी दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जित निकालेको छ ।

कुन क्षेत्र कसले जिते ?

हालसम्म मतगणना सकिएका क्षेत्रहरुमध्ये एमालेले ताप्लेजुङ, झापा–२, झापा–५ र उदयपुर–२ मा जित निकालेको छ । ताप्लेजुङमा एमालेका योगेशकुमार भट्टराई २१ हजार ९४३ मतसहित निर्वाचित भएका छन् । झापा–२ मा एमालेका देवराज घिमिरे २८ हजार ६९७ मतसहित निर्वाचित भएका छन् भने झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । ओली ५२ हजार ३१९ मतसहित निर्वाचित भएका हुन् ।

एमालेले उदयपुर–२ मा पनि जित निकालेको छ । सो क्षेत्रमा एमालेका अम्वरबहादुर रायामाझी १५ हजार २५१ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै, कांग्रेसले प्रदेश १ का दुई निर्वाचन क्षेत्रमा जित निकालेको छ । हालसम्म मतगणना सकिएका क्षेत्रहरुमध्ये कांग्रेसले ओखलढुंगा र झापा–१ मा जित निकालेको हो । ओखलढुंगामा कांग्रेसका रामहरी खतिवडा निर्वाचित भएका छन् । उनले ३३ हजार ५५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, झापा–१ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनी ३९ हजार ६२४ मतसहित निर्वाचित भएका हुन् ।

१० स्थानमा एमाले अग्रता, कांग्रेस ५ ठाउँमा अगाडि

हाल प्रदेश १ भित्रका २२ वटा निर्वाचन क्षेत्रहरुमा मतगणना भइरहेको छ । जसमध्ये सबैभन्दा धेरै एमालेले १० स्थानमा अग्रता लिएको छ । त्यस्तै, कांग्रेसले ५, माओवादी केन्द्रले ३ , राष्ट्रिय स्वतन्त्र पार्टीले २, राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङ अग्रस्थानमा छन् । उनले हालसम्मको गणनामा १५ हजार ६०५ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका भीष्मराज आङदेम्वेले १५ हजार १०० मत प्राप्त गरेका छन् ।

इलाम–१ मा एमालेका महेश बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थामा रहेका छन् ।

त्यस्तै, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङ ११ हजार ६२१ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्का १० हजार ७८८ मतसहित दोस्रो स्थानमा छन् ।

झापा–४ मा एमालेका लालप्रसाद साँवा लिम्बु २६ हजार ७१० मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका देउकुमार थेवे २० हजार ७२५ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, मोरङ–१ मा एमालेका घनश्याम खतिवडा १० हजार ९६७ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका डिगबहादुर लिम्बु १० हजार १११ मतसहित दोस्रो स्थानमा छन् । मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेल १६ हजार ८८ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सुजाता कोइराला १५ हजार ४९८ मतसहित दोस्रो स्थानमा छिन् ।

सुनसरी–३ एमालेकी भगवती चौधरी ६ हजार ३०७ मतसहित अग्रस्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ४ हजार ११४ मतसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै, सुनसरी–४ मा एमालेका जगदिशप्रसाद कुसियैत १० हजार ४७६ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की १० हजार १३६ मतसहित दोस्रो स्थानमा छन् ।

धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई २५ हजार ९६४ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा कांग्रेसका सुनीलबहादुर थापा २५ हजार २१८ मतसहित दोस्रो स्थानमा छन् ।

सोलुखुम्बुमा एमालेका मानवीर राई १३ हजार ७३५ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर केसीले १२ हजार १७८ मत प्राप्त गरेका छन् ।

कांग्रेसले प्रदेश १ का पाँच स्थानमा अग्रता लिएको छ ।

मोरङ–३ मा कांग्रेसका सुनिलकुमार शर्मा २२ हजार ६५५ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा एमालेका भानुभक्त ढकाल १२ हजार ९८४ सहित दोस्रो स्थानमा देखिएका छन् । मोरङ–६ कांग्रेस उम्मेदवार डा. शेखर कोइराला २१ हजार ७४५ मतसहित अग्रस्थानमा देखिएका छन् । सो क्षेत्रमा एमालेका लालबाबु पण्डित १५ हजार ७०५ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, संखुवासभामा कांग्रेसका दिपक खड्का १० हजार ८८५ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद गौतम ८ हजार ४८४ मतसहित दोस्रो स्थानमा छन् ।

तेह्रथुममा कांग्रेसका सिता गुरुङ ६ हजार ९९२ मतसहित अग्रस्थानमा रहेकी छन् । उनका प्रतिस्पर्धी एमालेका बिजय सुब्बाले ६ हजार १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उदयपुर– १ मा कांग्रेसका नारायण खड्का ११ हजार २३९ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी एमालेका मन्जुकुमारी चौधरीले १० हजार ३४६ मत प्राप्त गरेकी छिन् । प्रदेश १ मा माओवादीले तीन स्थानमा अग्रता लिएको छ ।

मोरङ–४ मा माओवादी केन्द्रका अमनलाल मोदी २६ हजार १८१ मतसहित अग्रस्थानमा देखिएका छन् । सो क्षेत्रमा एमालेका विनोदप्रसाद ढकाल १६ हजार ४४९ मतसहित दोस्रो स्थानमा छन् ।

भोजपुरमा माओवादीका सुदन किरातीले १४ हजार ८५ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उम्मेदवार शेरधन राई ११ हजार ८३८ सहित दोस्रो स्थानमा छन् । त्यस्तै, खोटाङमा माओवादीका रामकुमार राई २६ हजार १०७ मतसहित अग्रस्थानमा देखिएका छन् । उनका प्रतिस्पर्धी एमालेका विशाल भट्टराईले २३ हजार ४३१ मतसहित दोस्रो स्थानमा छन् ।

राप्रपाले प्रदेश १ मा एक मात्र स्थानमा अग्रता लिइरहेको छ । झापा–३ राप्रपाका राजेन्द्र लिङदेन ३० हजार ९६३ मतसहित अग्रस्थानमा देखिएका छन् । सो क्षेत्रमा कांग्रेसका कृष्णप्रसाद सिटौला २७ हजार ५६५ मतसहित दोस्रोमा छन् ।

मोरङ–५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल १९ हजार १६ मतसहित अग्रस्थानमा देखिएका छन् । सो क्षेत्रमा जसपाका राजकुमार यादव १५ हजार ३४२ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रदेश १ का दुई निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । दुवै निर्वाचन क्षेत्र सुनसरी जिल्लाका रहेका छन् ।

सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ ४ हजार ६५० मतसहित अग्रस्थानमा छिन् । सो क्षेत्रमा जसपाका अशोककुमार राई ४ हजार २३६ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल बिक्रम थापा ९ हजार ९२० मतसहित अग्रस्थानमा देखिएका छन् भने एमालेका भीमप्रसाद आचार्य ८ हजार ४६० मतसहित दोस्रो स्थानमा रहेका छन् ।


क्लिकमान्डु