वर्षायामसँगै कालीगण्डकीमा जलयातायात बन्द, आधा घन्टामा सकिने बाटो चार घन्टा हिँड्नुपर्ने



पर्वत । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर) वर्षायामसँगै अवरुद्ध भएको छ।

नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपरेको छ ।

विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनौं गाविसका बासिन्दाले नौ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महिना अवरुद्ध हुने गरेको हो ।

दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती क्षेत्रका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाविसवासीले सहज रुपमा यात्रा गर्नुका साथै मालसामान ओसारपसार गर्दै आएका थिए।

यातायातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान साबित भए पनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । पानीको सतह घटेपछि मात्र स्टिमर सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए ।

‘असोजको दोस्रो सातापछि पानीको सतह कम हुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौं,’ उनले भने ।

यातायात अवरुद्ध हुँदा दैनिक आधा घन्टामा सकिने यात्रा चार घन्टाको पैदल यात्रा हिँडेर स्याङ्जाको मिर्मीसम्म पुग्न बाध्य भएका छन् ।

हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायीले वर्षामा खच्चरमार्फत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरुका लागि अहिले त्यही जलाशय बरदान जस्तै बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । जलाशयमा दैनिक रुपमा सञ्चालित आठवटा स्टिमर अहिले ठप्प  छन् । स्टिमरमा २४ जनाले प्रत्यक्ष रुपमा र दर्जनौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारीको अवसरसमेत पाएका छन् ।

हिउँदको समयमा सहज रुपमा यातायात सेवा पाए पनि वर्षायामका तीन महिना भने सास्ती नै खेप्नुपर्ने अवस्था आएको न्यौपानेले बताए। स्टिमर सञ्चालन हुँदा प्रतिकिलो ५० पैसामा ढुवानी गर्दै आएका व्यवसायी खच्चरबाट प्रतिकेजी ४ रुपैयाँमा सामान ढुवानी गर्न बाध्य भएका छन् ।

कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईका अनुसार,’पहिले डुङ्गा र साना स्टिमर भए पनि अहिले मालबाहक ट्रकको इन्जिन र जिपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको छ ।’

यसले मालबाहक ट्रककै जस्तै वाहन क्षमता राख्दछ।


क्लिकमान्डु