चितवनः १ मा घण्टीका ढकाल, २ मा सुर्यका पोख्रेल र ३ मा हलोका पाण्डेको अग्रता



चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ ।

उनले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राखेका छन् । सात हजार ४१ मत गणना गर्दा उनले दुई हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार २२७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । उनले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गरेका छन् ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गरेका छन् । यो मत परिणाम बिहान ६ः४० बजे सम्मको हो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।


क्लिकमान्डु