प्रचण्ड, जनार्दन शर्माको क्षेत्रसहित ४ जिल्लामा पुनः मतदान गर्न एमालेको माग



कठमाडौं । नेकपा एमालेले देशका चार वटा निर्वाचन क्षेत्रमा पुन मतदान गर्न माग गरेको छ । केही निर्वाचन क्षेत्रमा धाँधली भएको, केहीमा बुथ कब्जा भएको भन्दै त्यस्ता निर्वाचन क्षेत्रमा पुनः मतदान गर्न माग गरेको हो ।

एमालेले गोरखा–२ का, एमालेले स्याङ्जा–२, रूकुम पश्चिममको सात वटा मतदान केन्द्र र दोलखाको तामाकोशी, कालिन्चोक, गौरीशंकर, बैत्यश्वर, मेलुङ र शैलुङ गाउँपालिकाका ७ वटा बुथ गठबन्धने कब्जामा लिएर एकलौटी मतदान गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, राप्रपा नेपाल, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी र स्वतन्त्र उम्मेदवारले पुनः निर्वाचनका लागि माग गरेका छन् । सबै दलले गोरखा २ का ८ वटा मतदान केन्द्रमा धाँधली भएको र गोरखा १ का ४ केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गरेका हुन् ।

यस्तै स्याङ्जा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतदान गर्न माग गरेको छ । उक्त क्षेत्रकी उम्मेदवार पद्मा अर्यालले पुनः मतदान गर्न माग गरेकी छिन् । स्याङ्जाका ४ बुथमा सत्ता गठबन्धनको कांग्रेसले कब्जा गरेको उनको आरोप छ ।

एमालेले अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र रूकुम पश्चिममा पनि पुनः मतदान गर्न माग गरेको छ । उक्त क्षेत्रको ७ वटा मतदान केन्द्रमा धाधली भएको भन्दै पुनः मतदान गर्न माग गरिएको छ ।

यस्तै एमालेले दोलखाको विभिन्न क्षेत्रमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले तामाकोशी, गौरीशंकर, कालिन्चोक, बैत्यश्वर, मेलुङ र शैलुङ गाउँपालिकाका ७ वटा बुथमा गठबन्धले नियन्त्रणमा लिएर मतदान गरेको भन्दै पुनः मतदान गर्न माग गरेका छन् ।


क्लिकमान्डु