एकै दिन बढ्यो बैंकिङ प्रणालीमा १६ अर्ब निक्षेप, सीडी रेसियो घट्यो



काठमाडौं । एकै दिन बैंक तथा वित्तीय संस्थामा निक्षेप १६ अर्बले बढेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । एकै दिन निक्षेप १६ अर्बले बढेर ३० गते ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै वाणिज्य बैंकहरुको मात्रै निक्षेप १३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जुन २९ गतेसम्म ४५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो ।

अन्य बैंक तथा वित्तीय संस्थाको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेर ६ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । २९ गतेसम्म ६ खर्ब २० अर्ब रुपैयाँ रहेको छ ।

यो अवधिमा प्रणालीमा निक्षेप थपिनेमात्रै नभएर कर्जा विस्तार पनि केही बढेको छ । निक्षेपको तुलनामा भने कर्जा प्रवाह केही कम रहेको छ । २९ गतेसम्म ४७ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेकामा ३० गते १ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २९ गतेसम्म ८७.०९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपत (सीडी रेसियो) ३० गते घटेर ८६.८५ प्रतिशत रहेको छ । एकै दिनमा सीडी रेसियो पनि घटेको छ ।

यता बैंकको अन्तर बैंक ८.४६ प्रतिशतबाट बढेर ८.५० प्रतिशत पुगेको छ ।


क्लिकमान्डु