बैंकमा तरलता अभावले घरजग्गाको कारोबारसँगै कर्जा प्रवाह पनि आधा घट्यो



काठमाडौं । अहिले बजारमा चरम तरलता अभाव छ । विगत १ वर्षदेखि तरलता अभाव देखिन थालेको अर्थतन्त्रमा अहिले पनि कायमै छ । बजारमा तरलता अभाव हुँदा देशभरका उद्योगहरु संकटमा पर्न थालेका छन् ।

अहिले अधिकांश उद्योगको उत्पादन आधाले घटेको छ भने खपत पनि न्यून भएको अवस्था छ । साथै, लगानीयोग्य पूँजीको अभाव हुँदा बजारमा मझौला तथा ठूला उद्योगमा लगानी हुन सकेको छैन ।

त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर दोब्बरले बढाएको छ । जसले गर्दा अर्थतन्त्र मन्दीतर्फ गएको देखिन्छ । बजारमा तरलता अभाव हुँदा घरजग्गा क्षेत्रमा पनि उच्च प्रभाव परेको छ । त्यसैगरी, तरलता अभावले घरजग्गाको कारोबारसँगै कर्जा प्रवाह आधाले घटेको छ ।

सरकारले यसअघि नै देशभर उच्च घरजग्गाको कारोबार भएसँगै नियन्त्रण गर्न भूउपयोग नियामवली जारी गरेको थियो । भूउपयोग नियामवली जारी भएसँगै पछिल्लो दिनमा घरजग्गा किनबेच आधाभन्दा बढीले घटेको छ । भूउपयोग नियामवली प्रत्यक्ष असर पारेको क्षेत्रमा तरलता अभाव र ब्याजदरले घरजग्गामा उच्च प्रभाव परेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा घरजग्गा किनबेच ५४ प्रतिशतले घटेको छ । गत वर्ष देशभर २ लाख ४ हजार ७३४ वटा घरजग्गाको किनबेच भएको थियो । तर, यो वर्षको सोही अवधिमा देशभर ९४ हजार ३४३ घरजग्गा किनबेच भएको छ ।

विभागका सूचना अधिकारी विष्णुकुमार महतले यो वर्ष घरजग्गा कारोबारमा कमी आउनुको मुख्य कारण भुउपयोग नियामवली र राष्ट्र बैंकको नीति रहेको बताए । उनकाअनुसार राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा जाने कर्जामा कडाइ गरेको छ भने अर्कोतर्फ अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर ह्वात्तै बढाएको छ । जसले गर्दा घरजग्गा कारोबार मन्दीतर्फ गएको हो ।

त्यस्तै, विभागले भनेअनुसार कर्जा प्रवाह पनि आधाले घटेको देखिन्छ । गत वर्षको तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २८ अर्ब २० करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । चालु आवको सोही अवधिमा घरजग्गा क्षेत्रमा १५ अर्ब ९ करोड ७७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा ४६ प्रतिशतले कम हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार डेढ करोडसम्मको व्यक्तिगत आवासीय घर क्षेत्रमा ६ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ र रियल स्टेट क्षेत्रमा ८ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट डेढ करोड व्यक्तिगत आवासीय घर क्षेत्रमा १२ अर्ब १८ करोड ३० लाख र रियल स्टेट क्षेत्रमा १६ अर्ब २ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

असोज मसान्तसम्ममा आवासीय रियल स्टेट कर्जाअन्तर्गत ३ अर्ब २८ करोड ३४ लाख रुपैयाँ प्रवाह भएको छ । तर, व्यवसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रमा भने तीन महिनाको अवधिमा कुनै कर्जा प्रवाह भएको देखिँदैन । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तिय संस्थाबाट व्यवसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणका लागि ३ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

त्यस्तै, आम्दानी हुने व्यवसायीक कम्प्लेक्समा पनि कर्जा प्रवाह भएको देखिँदैन । गत वर्षको सोही अवधिमा ३२ करोड ४० लाख रुपैयाँ सो क्षेत्रमा कर्जा प्रवाह भएको थियो ।

असोज मसान्तसम्ममा अन्य रियल स्टेट (जग्गा खरिद तथा प्लटिङ)का लागि ६ अर्ब ९४ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमा जग्गा खरिद तथा प्लटिङमा ७८ करोड ९६ लाख रुपैयाँ प्रवाह भएको छ ।

तर, कुनै पनि कारणबिना ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह हुनेमा तीन महिनाको अवधिमा कर्जा प्रवाह भएको छैन । गत वर्षको असोजसम्म कुनै निश्चित उद्देश्यबिना १ अर्ब ६६ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

तर, घरजग्गा क्षेत्रकै अन्य भन्ने विधामा भने सबैभन्दा बढी कर्जा गएको छ । गत वर्ष सो विधामा कर्जा भएको थिएन । यो वर्ष भने ८ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गर्छ ।


क्लिकमान्डु