लबिम मलले एकै वर्ष गर्यो साढे २८ करोडको व्यापार



काठमाडौं । ललितपुर विशाल बजार मल्टीप्लेक्स कम्पनी लिमिटेड (लबिम) ले एकै वर्ष साढे २८ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २८ करोड ५१ लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २० करोड ७२ लाख रुपैयाँ, सन् २०२० मा २४ करोड ६२ लाख रुपैयाँ र सन् २०१९ मा २८ करोड ९४ लाख रुपैयाँको व्यापार गरेको थियो ।

पुल्चोकमा रहेको लबिम मल सन् २०१६ देखि सञ्चालनमा आएको थियो भने सन् २०१७ देखि आम्दानी गर्न सुरु गरेको थियो ।

२५ वर्ष लिजमा लिई व्यवसायिक कम्प्लेक्सको रुपमा सञ्चालनमा रहेको कम्पनीमा चार जनाको स्वामित्व छ । राजेशकुमार सिद्धिको ३७ प्रतिशत, नकिम उद्धिनको २६ प्रतिशत, भास्कर ढुङ्गानाको २० प्रतिशत र रेशु अर्याल ढुङ्गानाको १७ प्रतिशत सेयर हिस्सा छ । कम्पनीको अध्यक्षमा राजेशकुमार सिद्धि रहेको छ ।

कम्पनीले मनोरञ्जन, फास्ट फुड तथा लत्ताकपडा व्यवसायका लागि रिटेल स्पेस प्रदान गर्दै आएको छ । कम्पनीअनुसार मलमा एक सयभन्दा बढी ब्रान्डमा रेष्टुरेन्ट, बुटिक तथा तीन वटा मल्टीप्लेक्स थिएटर सञ्चालनमा रहेको जनाएको छ ।

त्यस्तै, कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९० करोड ७२ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु