क्यूआर र मोबाइल बैंकिङ बढ्यो, इन्टरनेट र मोबाइल वालेटबाट हुने भुक्तानी घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा क्यूआरबाट हुने भुक्तानी र मोबाइल बैंकिङबाट हुने भुक्तानी बढ्दा अन्य डिजिटल प्लेटफर्मबाट हुने भुक्तानी घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरणअनुसार असोज महिनामा क्युआर कोड र मोबाइल बैंकिङबाट हुने भुक्तानी बढेको छ । इन्टरनेट बैंकिङ र मोबाइल वालेटबाट हुने भुक्तानी घटेको छ ।

राष्ट्र बैंककाअनुसार असोजमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी २३ करोड ४० लाख रुपैयाँले घटेर ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।

भदौ महिनामा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी १२ अर्ब १९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंककाअनुसार मोबाइल बैंकिङबाट हुने भुक्तानी भदौ महिनाको तुलनामा असोजमा १५ अर्ब ९९ करोड ४० लाख रुपैयाँले बढेको छ । भदौमा मोबाइल बैंकिङबाट १ खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपैयाँ भुक्तानी भएकामा असोजमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ ।

मोबाइल वालेटबाट हुने कारोबार पनि घटेको छ । भदौको तुलनामा असोजमा वालेटबाट हुने कारोबार १ अर्ब ६ करोड ७० लाख रुपैयाँले घटेर १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ रहेको छ । भदौ महिनामा मोबाइल वालेटबाट हुने कारोबार १७ अर्ब ६३ करोड ५० रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा क्यूआरबाट हुने भुक्तानीमा केही सुधार आएको छ ।

भदौमा १५ अर्ब २ करोड ८० लाख रुपैयाँको भुक्तानी भएको थियो । असोज महिनामा यो रकम बढेर १७ अर्ब ३३ करोड ७० लाखको भुक्तानी भएको थियो । एक महिनामा यस्तो भुक्तानी २ अर्ब ३० करोड ९ लाख रुपैयाँले बढेको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ ।


क्लिकमान्डु