एनसीसी बैंकलाई साधारणसभा स्थगित गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ ।

आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको त्यस बैंकको साधारणसभा आगामी मङ्सिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी आयोजना गरिएको भन्दै स्थगनका लागि निर्देशन दिएको हो ।

मौन अवधि सुरु भइसकेपछि ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले निर्देशन दिएको हो ।


क्लिकमान्डु