बैंकहरुले मंसिरमा ब्याजदर नबढाउने



काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनामा ब्याजदर नबढाउने भएका छन् ।

मंगलबार बसेको बैंकर्स संघको बैठकले मंसिर महिनामा बैंकहरुको ब्याजदर नबढाउने र हालको अवस्थालाई नै निरन्तरता दिने निर्णय गरेको संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिए ।

बैठकले मंसिरमा ब्याजदर यथास्थितिमा राख्ने निर्णय गर्नुका साथै आवश्यक परेको खण्डमा पुसमा भने पुनरावलोकन गर्ने मौखिक सहमति पनि गरेको छ ।

उनकाअुनसार पछिल्लो समय प्रणालीमा निक्षेप थपिँदै गएको र मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएका कारण पनि ब्याजदरलाई पुरानै अवस्थामा कायमै राखिएको हो ।

उपाध्यायकाअनुसार गत साता प्रणालीमा २१ अर्ब बढी निक्षेप थपिएको थियो । यो साता पनि निक्षेप केही बढ्ने संकेत देखिएको उनले बताए ।

बैंकले हाल व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत, बचतमा ७.१३३ देखि ९.१३३ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।


क्लिकमान्डु