फेसबुकबाट निकालिए ११ हजार कर्मचारी



काठमाडौं । अमेरिकी टेक व्यावसायी तथा फेसबुकका संस्थापक र मेटा कम्पनीका मालिक मार्क जुकरबर्गले आफ्नो कम्पनीबाट ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेका छन् ।

बुधबार जुकरबर्गले आफ्नो कम्पनीका ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेका हुन् ।

मेटाअन्तर्गत रहेका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपसहित अन्य कम्पनीमा कार्यरत रहेका ८७ हजारभन्दा धेरै कर्मचारीहरुबाट ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा भएको हो ।

जुकरबर्गले गरेको यो फैसला मेटा कम्पनीको इतिहासकै सबैभन्दा गम्भीर फैसला मानिएको छ । कम्पनीबाट कर्मचारी निकाल्नुको कारणको बारेमा बताउँदै जुकरबर्गले हाललाई कम्पनी नोक्सानी व्यहोरिरहेकोले यस्तो निर्णय गरिएको जानकारी दिए ।

उनले भनेका छन्, ‘मलाई थाहा छ, यो सबैको लागि असहज अवस्था हो र यो फैसलाले प्रभावित हुने सबैसँग म माफी माग्छु ।’ जुकरबर्गले आफ्नो यो फैसलाका लागि व्यवसायको वृद्धिमा गरिएको दीर्घकालीन अपेक्षाहरुलाई जिम्मेवार मानेका छन् ।

कोरोना महामारीको समयमा कम्पनीको फाइदामा भएको वृद्धिलाई दीर्घकालीन रुपमा रहन्छ भन्ने आशा गरिएकोमा त्यस्तो नभएकाले यस्तो निर्णय लिन पुगेको उनले बताएका छन् ।

उनले भने, ‘कैयौं मानिसहरले त्यो बेलाको वृद्धिलाई स्थायी हुन्छ भन्ने अनुमान लगाएका थिए । मैले पनि त्यस्तै अनुमान लगाए । जसअनुसार मैले लगानीलाई निकै बढाएको थियो ।’

तर, अर्थतन्त्रमा आएको असर र तीव्ररुपमा भइरहेको संकटका कारण अपेक्षाअनुसार वृद्धि नभएर कम्पनी घाटामा जाने अवस्था आएको छ । जसकारण कम्पनीले फाइदामा भइरहेको गिरावटलाई कारण देखाउँदै यस्तो निर्णय लिन पुगेको जनाइएको छ ।


क्लिकमान्डु