बैंकको चर्को ब्याजदर विरुद्ध उद्योगी व्यवसायी सडकमा



विराटनगर । प्रदेश-१ का उद्योगी व्यवसायीहरू बैंकको चर्को व्याजदरविरुद्ध बुधबार सडकमा उत्रिएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त नेतृत्वमा उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।

कालो टिसर्ट र कालै मास्क लगाएका उद्योगी व्यवसायीहरूले कालो व्यानरसहित विराटनगर बजारमा जुलुश प्रदर्शन गरेका छन् । उनीहरूले बैंकको चर्को व्याजदर लगाउने कार्यमा नेपाल राष्ट्र बैंकको नीति जिम्मेवार रहेको भन्दै नाराबाजी गरेका थिए । मौन जुलुश गर्ने भनिए पनि माइकिङ गरेर नाराबाजी गरिएको थियो ।

जुलुश विराटनगर देवकोटा चोकस्थित नेपाल राष्ट्र बैंकको प्रदेश १ कार्यालय पुगेर व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंक प्रदेश १ का प्रमुख मीना पाण्डेलाई संयुक्त मागपत्र बुझाएका थिए ।

मोरङ व्यापार संघबाट निस्किएको बिरोध जुलुसले नगर परिक्रमा गरेको थियो । नगर परिक्रमापछि राष्ट्र बैंक प्रदेश १ को कार्यालयअगाडि कोणसभा भएको थियो ।

कोसभामा मोरङ व्यापार संघका अध्यक्ष रिजाल, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले उद्योगी व्यवसायीहरूको माग कार्यान्वयन गर्न राष्ट्र बैंकले तत्कालै कदम चाल्नु पर्ने बताएका थिए । कार्यक्रममा ती संस्थाका जिल्ला, नगर र वस्तुगत संघहरूको पनि सहभागिता रहेको परिसंघका प्रदेश १ अध्यक्ष घिमिरे जानकारी दिए ।


क्लिकमान्डु